वाइल्डलाइफ एग्रोमार्फत व्यवसायिक कालिज पालन सुरु
पाल्पा । पाल्पामा व्यावसायिक कालिज पालन सुरुभएको छ । सरकारले बिदेशी जात र नश्लका कालिज प्रजातीलाई पाल्न अनुमती दिएपछि पाल्पामा कालिज पालन सुरु गरिएको हो ।
तानसेन नगरपालिका–५, ढुंगाखानीमा ‘शितोष्ण वाइल्डलाइफ एण्ड एग्रो रिसर्च सेन्टर प्राइभेट लिमिटेड’ को नाममा कालिज फार्म खोलिएको छ । चाइनिज रिग्नेड प्रजातीको कालिज अहिले फर्ममा २२ सय छन् । युरोपमा उत्पादन गरेर ल्याई सरकारी अनुमतिमा नेपालमा व्यवसायीक रुपमा पालन गरिएको छ ।
कम्पनी रजिष्टार कार्यालय काठमाण्डौ र जिल्लाको घरेलु कार्यालयमा दर्ता गरेर व्यवसाय सञ्चालनमा आएको हो । पाँच जनाको लगानीमा करिब साँढे दुई करोड लगानीमा व्यवसाय सञ्चालनमा ल्याएको सञ्चालक सुरेन्द्र बस्यालले बताउनुभयो ।
एग्रो टुरिज्मको अवधारणा अनुरुप व्यवसाय सञ्चालनमा ल्याएको र २४ रोपनी जग्गा किनेर सरकारबाट अनुमती प्राप्त अन्य जंगली जनावर र पशुपंक्षी पाल्ने योजना रहेको सञ्चालक बस्यालले बताउनुभयो । “पाँच जनाको शेयरमा काम अगाडी बढेको छ । पर्यटकलाई लक्षित गरि गार्डेन सहितको होटल बनाउने योजना रहेको छ” सञ्चालक बस्यालले भन्नुभयो ।
पाल्पाको पर्यटन र कृषि क्षेत्रमा नयाँपन दिन र रुपन्देहीबाट आउने आन्तरिक पर्यटकलाई केन्द्रित गरी अगाडी बढ्ने योजना रहेको सञ्चालक बस्यालको भनाई छ ।
अहिले फर्ममा ५ जनाले रोजगारी पाइरहेका छन । अहिलेको कोभिड–१९ का कारण २२ सय मात्रै कालिजका चल्ला ल्याईएको र आगामी दिनमा २० हजारसम्म कालिज पाल्ने लक्ष्य रहेको बस्यालले बताउनुभयो ।
जग्गालाई माथिबाट जालीले छोपेर कालिज राखिएको छ । कालिजलाई चिसो क्षेत्र चाहिने र चिसो स्थानमा कालिज व्यवसाय राम्रो हुने तथा उत्पादित कालिजको मासुको स्वाद समेत राम्रो हुने भएकोले विशेषज्ञबाट सल्लाह लिई चिसो ठाउँ खोजेर फार्म सञ्चालनमा ल्याइएको सञ्चालक बस्याल बताउनुहुन्छ ।








प्रतिक्रिया राख्नुहोस्