प्रदेश नंं २ को कोरोना सक्रिय सङ्क्रमितको रोजाई होम आइसोलेसन

जनकपुरधाम । प्रदेश न. २ को संस्थागत आइसोलेसनमा कोरोना सङ्क्रमित बस्नेको सङ्ख्यामा व्यापक मात्रामा कमी आएको छ ।
खास गरेर संस्थागत आइसोलेसनको क्षमता तीन हजार १२ बेडको भए पनि अहिले आइसोलेसनमा आठ सय ९० जना कोरोनाका सङ्क्रमितले उपचार गराइरहेका छन् ।
तर होम आइसोलेसनमा बस्नेहरूको सङ्ख्या उल्लेख्य रहेको छ । प्रदेशको आठ वटा जिल्लामा चार हजार पाँच सय ३६ जना होम आइसोलेसनमा रहेका छन् ।
होम आइसोलेसनमा बस्नुको प्रमुख कारणमा घर परिवारको हेरचाह तथा मायामा बस्नु नै रहेको चिकित्सकहरूले बताउनु भएको छ ।
यसका साथै होम आइसोलेसनमा आफ्नो चाहना अनुसारको भोजन गर्नु पनि एक रहेको सामाजिक विकास मन्त्रालयका प्रवक्ता एवं निमित्त निर्देशक विजय कुमार झाले जानकारी दिनु भएको छ ।
अहिले प्रदेश नंं २ को सर्लाही जिल्लामा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार ५३ पुगेको छ । जस मध्ये संस्थागत आइसोलेसनमा ७० जना रहेका छन् भने होम आइसोलेसनमा नौ सय ८६ जना रहेका छन् ।
महोत्तरी जिल्लामा पनि कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या नौ सय एक जना रहेका छन् । यसमध्ये संस्थागत आइसोलेसनमा ३५ जना तथा होम आइसोलेसनमा आठ सय ६६ जना रहेका छन् ।
पर्सा जिल्लामा आठ सय ८७ जना सक्रिय संक्रमितहर रहेको छ । त्यसमा आइसोलेसनमा १ सय ९६ जना तथा होम आइसोलेसनमा ६ सय ९१ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
रौतहट जिल्लामा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या ८ सय ८१ जना रहेका छन् । जस मध्ये आइसोलेसनमा ४३ जना तथा होम आइसोलेसनमा ८ सय ३८ जना रहेका छन् ।
धनुषा जिल्लामा पनि कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या ८ सय ७२ जना रहेका छन् । जस मध्ये संस्थागत आइसोलेसनमा ४९ जना तथा होम आइसोलेसनमा ८ सय २३ जना रहेका छन् ।
सिराहा जिल्लामा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या ३ सय ८ जना रहेका छन् । त्यस मध्ये आइसोलेसनमा ३ सय ५ जना तथा होम आइसोलेसनमा ३ जना मात्र रहेका छन् ।
सप्तरी जिल्लामा २ सय ८६ जना सक्रिय सङ्क्रमितहरू रहेका छन् । जस मध्ये आइसोलेसनमा १ सय ७२ जना तथा होमआईसोलेशनमा १ सय १४ जना उपचारमा रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
कोरोनाका सबै भन्दा कम सक्रिय संक्रमित हुने जिल्लाको रूपमा बारा रहेको छ । बारामा २ सय ३५ जना मात्र सक्रिय सङ्क्रमित रहेका छन् । जसमध्ये आइसोलेसनमा २० जना तथा होम आइसोलेसनमा २ सय १५ जना रहेका छन् ।








प्रतिक्रिया राख्नुहोस्