गण्डकी प्रदेशमा थपिए ३६ कोरोना संक्रमित

तनहुँ । गण्डकी प्रदेशमा थप ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
लम्जुङमा १७, पूर्वी नवलपरासीमा ८, स्याङ्जामा ४, कास्कीमा ६ र तनहुँमा एक जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
निर्देशनालयले आइतबार बिहान ७ः५० बजे सार्वजनिक गरेको विवरणअनुसार लम्जुङको सुन्दरबजार–९ का १६ जना र बेंसिशहर–२ का एक जनामा कोरोना संक्रमण देखिएको छ ।
यसैगरी पूर्वी नवलपरासीको गैंडाकोटमा ६ जना तथा मध्यविन्दु र हुप्सेकोटका १–१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्याङ्जाको पुतलीबजारका ३ जना र बिरुवाका १ जनामा पनि संक्रमण पुष्टि भएको छ ।
कास्कीको पोखरा महानगरपालिका वडा नं. १६ की २० वर्षीया महिला र वडा नं. ९ की ७० वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको छ ।
त्यस्तै स्वास्थ्य निर्देशनालयको आइतबार बिहानको दोस्रो अद्यावधिक विवरण अनुसार कास्कीको पोखरा महानगरपालिकाका थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणमा पोखरा ६ का ४५ वर्षीय पुरुष, पोखरा ५ का ३७ वर्षीया महिला, पोखरा २७ का २१ वर्षीया महिला र पोखरा १ का ५० वर्षीया महिलाको परीक्षण रिपोर्ट कोरोना पोजेटिभ आएको निर्देशनालयले जनाएको छ ।
संक्रमित चारै जना प्रतिष्ठानको फिभर क्लिनिकमा परीक्षणका लागि आउनुभएको थियो । उहाँहरुलाई अहिले आइसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ ।
यसैगरी तनहुँको भानु नगरपालिका ४ का ५० वर्षीय पुरुष पनि संक्रमित भएका स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या २ हजार ९ सय ३९ पुगेको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्