चन्दा उठाएर कोरोना संक्रमितको उपचार गर्ने मिनि अस्पताल
सिन्धुपाल्चोक । गाउँपालिका र माथिल्लो निकायबाट भएको प्रयास पर्याप्त नभएपछि चन्दा सहयोग जुटाएर त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष सुकदेव रिसालले गाउँमा मिनि अस्पताल निर्माण गर्नुभएको छ ।
कोरोना संक्रमणको जोखिममा रहेकालाई राख्ने र संक्रमित भएकालाई उपचार गर्ने सम्मको मिनि अस्पतालका रुपमा व्यवस्थित आईसोलेसन र क्वारेन्टाईन निर्माण गरिएको हो ।
त्रिपुरासुन्दरी सहित आसपासका स्थानीय तहले खाँडिचौरमा बनाईएको साझा क्वारेन्टाइन पर्याप्त नभएकाले गाउँमै आईसोलेसन र क्वारेन्टाईन निर्माण गरेर जनतालाई सेवा दिईएको वडा अध्यक्ष सुकदेव रिसालले बताउनुभयो ।
‘माथिल्लो निकायबाट पर्याप्त व्यवस्थापन हुन सकेन । वडामा हामीसँग पनि धेरै स्रोत नभएकाले साथीभाई सल्लाह गरेर इच्छुकहरुबाट बढीमा १ हजारका दरले चन्दा संकलन गरेर वडामै हामीलाई चाहिने आईसोलेसन र क्वारेन्टाईन बनाएका छौं ।’ वडाअध्यक्ष रिसालले भन्नुभयो,‘ सरकारले तोकेको मापदण्ड भन्दा अझ राम्रो र व्यवस्थित बनाईएको छ । अहिले कोरोना संक्रमितको उपचारका लागि मात्रै होईन यसलाई पछि अस्पतालकै रुपमा विकास गर्ने हाम्रो लक्ष्य छ ।’ वडा अध्यक्षको योजनामा स्थानीय युुवा र सरोकारवालाले समेत साथ दिएका थिए । आईसोलेसन स्थलमा स्वास्थ्यकर्मीको नियमित निगरानी हुने गरेको छ ।
गाउँमा चन्दा उठाएर निर्माणका गरिएको १० वेडको आईसोलेसन र १५ वेडको क्वारेन्टाईनलाई थप व्यवस्थित बनाउन लिवर्ड संस्थाले २ लाख बराबरको सहयोग गरेको थियो । त्यसलाई मापदण्ड अनुसारको बनाउन १ लाख बराबरको अक्सिजन सिलिन्डर लगायतका सामाग्री इसार्ड सुनकोशीले सहयोग गरेको थियो ।
त्रिपुरासुन्दरी गाउँपालिका ३ पात्लेमा रहेको हरिसिद्धि आधारभुत विद्यालयमा मिनि अस्पतालको झल्को दिनेगरि आइसोलेसन र क्वारेन्टाईन बनाईएको छ । विद्यालयमा विद्यार्थीको संख्या कम भएकाले अर्को विद्यालयसँग मर्च गर्ने निर्णय गरेर उक्त भवनलाई अस्पतालको रुपमा प्रयोग गर्ने योजना अघि सारिएको वडाअध्यक्ष रिसालले बताउनुभयो ।
आवश्यक परेमा स्वास्थ्य संस्थामा भएका र गाउँमा सर्वसाधारणले खरिद गरेर प्रयोग गर्ने अक्सिजनका सिलिन्डर लगायतका स्वास्थ्य सामाग्रीको प्रयोग गरेर भएपनि गाउँमै उपचार गर्ने व्यवस्था मिलाईएको उहाँको भनाई छ । ‘मेरो वडाका नागरिकलाई स सानो उपचारका लागि वडामै व्यवस्थापन मिलाएको छु ।’ उहाँले भन्नुभयोे, ‘जनताको प्रतिनिधि हुनुका नाताले थप व्यवस्थापन गर्न लागिपरको छु । सबैको साथ र हौषलाले सफलता मिलिरहेको छ । आगामी दिनमा पनि सहकार्यका लागि आवहन गर्दै सहयोग गर्नेलाई धन्यवाद दिन चाहन्छु ।’
त्रिपुरासुन्दरी ३ मा कोरोनाको संक्रमण फैलन सुरु भएदेखिनै सचेतनाको अभियान थालिएको थियो । बाहिरबाट आउनेलाई गाउँ प्रवेशमा कडाई गरेर काठमाडौं बस्ने वडाबासीलाई वडा अध्यक्षको पहलमा १३३ बोरा चामल राहत स्वरुप स्वंयसेवक परिचालन गरेर कोठा कोठामा पु¥याईएको थियो । शहरमा संकट बढ्दै गएसँगै वडाकै पहलमा गाउँ फर्कनेलाई गाउँ लगिएको छ ।








प्रतिक्रिया राख्नुहोस्