तपाईँ सुन्दै हुनुहुन्छः

मिथिलाञ्चलको कठोर व्रतको रूपमा मनाइने जितिया पर्व सम्पन्न

जनकपुरधाम । मिथिलाञ्चलसहित तराई मधेसका जिल्लाहरूमा कठोर व्रतको रूपमा मनाइने जितिया पर्व आज सम्पन्न भएको छ ।

जितिया पर्वमा व्रतीले थुक पनि ननिलेर ३६ घण्टासम्मको कठोर व्रत समापन गरेर अन्न जल ग्रहण गरेका छन् । तीन दिनसम्म मनाइने यो पर्वमा व्रतीले खरको तिनका पनि भाँच्न नहुने मान्यता रहेकाले निक्कै सावधानी पूर्वक मनाउने चलन रहेको छ ।

भाद्र कृष्णपक्ष सप्तमी, अष्टमी र नवमी तिथिमा मनाइने यो पर्वमा मुख्यतया सन्तानको दीर्घायु, सुस्वास्थ्य तथा समृद्धिको कामना गरिन्छ ।
यो पर्व गर्नाले सन्तानमाथि आइपर्ने जस्तो सुक्कै सङ्कटको समाधान हुने र मृत्युको मुखबाट पनि जोगिने धार्मिक मान्यता रहेको छ । त्यसैले यसलाई लौकिक भाषामा खर जितिया पनि भन्ने गरिन्छ ।

कसैको दुर्घटनामा वा कुनै विपत्तिमा ज्यान जागियो भने आमाले खर जितिया गरेकाले मात्र बाँचेको भन्ने चलन समाजमा रहेकाले यो पर्व मुख्यतया सन्तानको दीर्घायुका लागि गरिने गरिन्छ ।

तीन दिनसम्म विभिन्न विधि विधान अनुसार मनाइने यो पर्व खास गरेर सन्तान भएका महिलाहरूले मनाउने चलन रहेको छ । सन्तान नभएकाले प्रायः यो पर्व मनाउने गरिइएको छैन ।

आज नवमी तिथिका दिन व्रतीले नदी, तलाउ, पाखरी वा पवित्र जलाशयमा स्नान गरी पवित्र भएर केला, मटर, कोक्रासहितका प्रसाद सामाग्रीहरू जिमुतवाहनलाई अर्पण गरेर कथा सुनि पर्वको समापन गरेका छन् ।

यसमा जिमुतवाहन नामक लोकदेवतालाई पटक पटक स्मरण गरेर पूजा गर्ने चलन रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button