तपाईँ सुन्दै हुनुहुन्छः

तनहुँमा सशस्त्र प्रहरीसहित थप १३ जनालाई कोरोना पुष्टि

तनहुँ । तनहुँमा सशस्त्र प्रहरी सहित १३ जनालाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । जिल्लाको भानु नगरपालिकास्थित मनकामना सशस्त्र प्रहरी बल गणका पाँच जना प्रहरी सहित १० जनालाई कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

त्यस्तै जिल्लाको शुक्लागण्डकी नगरपालिकाको एक पुरुषमा कोरोना पुष्टि भएको छ । यस्तै जिल्लाको आँबुखैरेनी गाउँपालिका र भिमाद नगरपालिकामा १÷१ जनामा कोरोना सङ्क्रमित थपिएका हुन् ।

सशस्त्र प्रहरी बलका ३२, ३२, ३१, ३२ र ३१ वर्षीय प्रहरीलाई कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । त्यस्तै भानु नगरपालिका–१ का ४५ वर्षीय पुरुष, २७ वर्षीया महिला, भानु नगरपालिका–६ का ६२ वर्षीया महिला, ४२ र ५१ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

सशस्त्र प्रहरी बलका ७ जनाको स्वाब सङ्कलन गरिएको भानु नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ऐश्वर्यचन्द्र भट्टराईले जानकारी दिनुभयो । अन्य सबै कन्ट्याक्ट ट्रेसिङबाट पहिचान भएका हुन् ।

भानु नगरपालिकाका कोरोना संक्रमित सशस्त्र प्रहरी चितवनको भण्डारास्थित नम्बर ३ बाहिनी बाट सरुवा भएर आएका हुन् । उनीहरू भानुको मनकामना गणमा सरुवा भएर आए पछि गणले गत भाद्र २३ गते उनीहरूको पीसीआर परीक्षण गराएको थियो ।

शुक्रवार नै जिल्लाको शुक्लागण्डकी नगरपालिका–५ का ५९ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको थियो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको फिभर क्लिनिकमा स्वाब परीक्षण गर्दा उहाँमा कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

त्यस्तै जिल्लाको आँबुखैरेनी गाउँपालिका–३ का ५१ वर्षीय पुरुष र भिमाद नगरपालिका–६ का २० वर्षीया महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
चितवन मेडिकल कलेज चितवनमा गरिएको परीक्षणमा उनीहरूलाई कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

तनहुँमा कोरोना सङ्क्रमितको सङ्ख्या ३२६ जना पुगेको छ भने निको हुनेको सङ्ख्या २२६ जना पुगेको जिल्ला स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ । यस्तै ३ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button