बीरगंजमा भदौ ३१ गतेसम्म निषेधाज्ञा थपियो, बजार भने खुल्ने
बीरगंज । जिल्ला प्रशासन कार्यालय पर्साले आज साँझ एक सूचना जारी गर्दै निषेधाज्ञालाई भदौ ३१ गते राती १२ बजेसम्म कायम राख्दै भोलिबाट बजार भने पुर्णरुपमा खोल्ने निर्णय गरेको छ ।
जिल्ला प्रशासन कार्यालयमा आज प्रमुख जिल्ला अधिकारी अस्मान तामाङको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले निषेधाज्ञालाई भाद्र ३१ गते राति १२ बजेसम्म महानगर क्षेत्र भित्र निरन्तरता दिने निर्णय गरेको हो ।
निषेधाज्ञा जारी रहे पनि यसलाई खुकुलो बनाउँदै बैठकले बीरगंज बजार भने अब पुर्णरुपमा खोल्ने निर्णय गरेको पर्साका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले जानकारी दिनुभयो ।
सुरक्षा समितिको बैठकले बीरगंज महानगरपालिकाको बजार क्षेत्र नखुल्दा उपभोक्ता समस्यामा परेको गुनासो आएपछि उच्च स्वास्थ्य सतर्कताका साथ बजार तथा वित्तीय संस्था खोल्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी तामाङले बताउनुभयो ।
यसै गरी बैठकले पसलमा आउने सेवाग्राहीलाई सामाजिक दुरी कायम गर्ने, भिडभाड नियन्त्रण गर्ने सम्पूर्ण जिम्मेवारी सम्बन्धित व्यवसायीको हुने, स्वास्थ्य तथा सुरक्षा मापदण्ड उल्लङ्घन भएको पाइएमा सम्बन्धित व्यवसायीलाई कारबाही गर्ने निर्णय गरेको छ ।
पसलहरू दिउसो ११ः०० बजेदेखि ४ः०० बजेसम्म र तरकारी तथा फलफुल बिहान ५ः०० बजेदेखि ८ः०० बजेसम्म मात्र सञ्चालन गर्ने निर्णय गरेको छ ।
त्यसै गरी बैठकले जिल्ला भित्र सबै प्रकारका निजी तथा सार्वजनिक यात्रुवाहक सवारी साधन सञ्चालन गर्न नपाइने, कुनै पनि मेला महोत्सव जात्रा सञ्चालन गर्न, मानिस भेला हुन, भिडभाड गर्न, सभा जुलुस गर्न नपाइने, परम्परागत रूपमा भई आएका दैनिक रूपमा हुने आन्तरिक, नित्य पूजा बाहेकका सम्पूर्ण धार्मिक सांस्कृतिक गतिविधिहरू सञ्चालन गर्न नपाइने, शैक्षिक संस्था, प्रशिक्षण केन्द्र, ट्युसन सेन्टर, भाषा कक्षालगायतका जमघट हुने गतिविधिहरू सञ्चालन गर्न नपाइने, सबै प्रकारका सभा,गोष्ठी, सम्मेलन, तालीम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, सपिङ मल, डिपार्टमेन्ट स्टोर, मनोरन्जनस्थल, सैलुन, व्यूटिपालर, स्पा, स्विमिङ, जिम खाना, खेलकुद, पुस्तकालय, संग्राहलय आदी सञ्चालन गर्न नपाइने, निर्णय गरेको छ ।
बैठकले १२ वर्ष मुनि र ६० वर्षभन्दा माथिका सर्ब साधारण तथा गम्भीर प्रकृतिको रोग लागेको र बिरामीहरूलाई आफ्नो घरबाट बाहिर ननिस्कन समेत आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी तामाङले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्