तपाईँ सुन्दै हुनुहुन्छः

भोजपुरमा बैङ्क कर्मचारी, थुनुवासहित तीन जनामा कोरोना पुष्टि

भोजपुर । भोजपुरमा थप तीन जनामा कोरोना पुष्टि भएको छ । सङ्क्रमित देखिएकाहरूमा बैङ्कका कर्मचारी, हिरासतमा रहेका थुनुवा र होल्डिङ एरियामा रहेका एक/एक गरी तीन जना रहेका छन् ।

सङ्क्रमितहरूमा भोजपुरका २८ वर्षीय पुरुष, षडानन्द नगरपालिका–६ का २२ वर्षीय पुरुष र टेम्केमैयुङ गाउँपालिका–२ का २१ वर्षीय पुरुष रहेका छन् ।

दैनिक सयौँको सङ्ख्यामा सेवाग्राहीको चाप हुने बैङ्कका कर्मचारीमा सङ्क्रमण देखिनुले कोरोना सङ्क्रमण समुदाय स्तरमा फैलिनै खतरा बढेको भन्दै जिल्ला सङ्कट व्यवस्थापन केन्द्र भोजपुरको बैठकले भाद्र २५ बाट मसान्तसम्म जिल्लामा लकडाउन गर्ने निर्णय समेत गरी सकेको छ ।

जिल्लामा थप सङ्क्रमण फैलिन नदिन प्रशासनले भाद्र मसान्तसम्म एक हप्ताका लागि लकडाउन गरेको प्रमुख जिल्ला अधिकारी वसन्तराज पुरीले बताउनुभयो ।

बुधवार जिल्लाको उत्तरी षडानन्द नगरपालिकाको वडा नं ४ का १५ र ४१ वर्षीय दुई पुरुष र ४२ वर्षिया महिला, वडा नं ६ का ४४ वर्षीय पुरुष र वडा नं ८ का २० वर्षिया महिला गरी पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने बिहीबार थप तीन जनामा कोरोना सङ्क्रमण भेटिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

योसँगै भोजपुरमा कोरोना सङ्क्रमितको सङ्ख्या २० पुगेको छ । जसमध्ये नौ जना निको भइसकेको बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button