उपत्यकामा जोरबिजोर प्रणालीमा पनि बढ्यो सवारी चाप

काठमाडौँ- काठमाडौँ उपत्यकामा गत भदौ ३ गते मध्यरातिदेखि जारी निषेधाज्ञा आजदेखि खुकुलो भएसँगै चहलपहल,सबारी चाप बढेको छ ।जोरबिजोर प्रणाली लागू भएसँगै आज बिजोर नम्बरका सवारीसाधन सञ्चालनमा आएका छन् ।
उपत्यकाका तीन जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर) का प्रमुख जिल्ला अधिकारीले विभिन्न क्षेत्रका प्रतिनिधि, स्थानीय तहका प्रमुखको सुझाव तथा गृहमन्त्रालयसँगको परामर्शसहित जनजीवनलाई सहजीकरण गर्दै नयाँ आदेश जारी गरेको छ । सङ्क्रामक रोग ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८ को समेत अधिकार प्रयोग गरी उक्त आदेश जारी गरिएको हो ।
यसअघि अत्यावश्यक बाहेकका सवारीसाधन मात्र चल्दा फाट्टफुट्ट मात्र सवारी साधन देखिएका सडकमा आज सवारी साधनको चाप बढेको देखिएको छ । जोरबिजोरको नियम विपरित चलेका सवारीसाधनलाई सुरक्षाकर्मीले ठाउँठाउँमा रोकेका छन् ।
तीनै जिल्लाका प्रजिअको संयुक्त बैठकपछि साँझ जारी गरिएको विज्ञप्ति अनुसार उपत्यका भित्रमा १६ सिट क्षमताभन्दा बढी क्षमताका सार्वजनिक यात्रुबाहक सवारी साधन सञ्चालन गर्न सकिने छ । भाडाका ट्याक्सीको हकमा चालकसहित तीन जना र परिवार भित्रमा ५ वर्ष मुनिका बालबालिका दुई जनासम्म राखी चलाउन सकिने छ ।
निजी सवारीसाधन (मोटरसाईकल स्कुटर समेत) स्वास्थ्य मापदण्ड पालना गरी भौतिक दूरी कायम गरेर सञ्चालन गर्न सकिनेछ । यात्रुबाहक सार्वजनिक यातायातका साधनहरु सञ्चालन गर्दा स्वास्थ्य मापदण्ड अनुरुप सामाजिक दूरी कायम हुने गरी एक लहरमा एक जना (कुल क्षमताको आधाबाट नबढ्ने गरी ) बस्ने व्यवस्था मिलाउनु पर्नेछ ।
यसरी सवारी साधन सञ्चालन गर्दा चालक, सहचालक तथा यात्रुले अनिवार्य रुपमा मास्क लगाउनु पर्नेछ । सवारी साधनको ढोका मै स्यानिटाइजरको व्यवस्था हुुनुपर्ने, सहचालकले पञ्जा लगाउनुपर्ने तथा सवारी साधन दैनिक निसङ्क्रमण गराएको हुनेपर्नेछ ।
आदेशअनुसार तरकारी, दुध तथा खाद्यवस्तुका पसलहरु बिहान ११ बजेसम्म र बेलुकी ५ देखि ७ बजेसम्म खोल्न पाइने व्यवस्था गरिएको छ ।
निषेध गरिएका गतिविधि
खुला स्थानमा भीडभाड, सभा लजुलुस गर्न गराउन, जात्रा, मेला, महोत्सव, भोजभतेर सञ्चालन गर्न, धार्मिक क्षेत्रमा दैनिक नित्य पूजा बाहेकका गतिविधि, बढी भिडभाड हुने उद्योग, कलकारखाना, व्यापार, व्यवसाय सञ्चालन गर्न निषेध गरिएको छ ।
यस्तै चाडपर्व लगायत धार्मिक तथा साँस्कृतिक कार्यक्रममा हुने जमघट, शैक्षिक संस्था सञ्चालन, सबै प्रकारका गोष्ठी, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, मनोरञ्जन स्थल, व्यूटी पार्लर शैलुन, स्पा, स्वीमिङ पूल जीमखाना, समूहमा खोलिने खेल, पुस्तकालय चिडियाखाना तथा सङ्ग्राहलय सञ्चालनमा रोक लगाइएको पुरानै व्यवस्थालाई कायम गरिएको छ । व्यापार व्यवसायमा स्वास्थ्य मापदण्ड विपरित मजदुरहरुलाई ओसार पसारमा समेत रोक लगाइएको छ ।








प्रतिक्रिया राख्नुहोस्