अस्थायी कोभिड अस्पतालमा सङ्क्रमित सुन्यभएसँगै जनरल सेवा सुरु हुँदै

बीरगंज । कोरोना सङ्क्रमणको हटस्पट बनेको मुलुकको आर्थिक नगरी बीरगंज यति बेला कोरोना सङ्क्रमणलाई नियन्त्रण गर्न सक्षम देखिएको छ ।
पछिल्लो समयमा प्रदेश २ को एक मात्र महानगरपालिका बीरगंज तथा पर्सा जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या घट्दै गएकोले अस्थायी कोभिड अस्पताल बन्द हुने अवस्थामा पुगेका छन् ।
नारायणी अस्पताल वीरगंजको मातहतमा सञ्चालित वीरगंज हेल्थ केयर अस्थायी कोभिड अस्पतालको आइसोलेसनमा रहेका सम्पूर्ण सङ्क्रमितहरू निको भई घर फर्किएपछि हिजोदेखि अस्पताल खाली भएको छ ।
अस्पताल खाली भएसँगै तीन दिन भित्र सम्पूर्ण अस्पताललाई सेनेटाईज गरी विसङ्क्रमित गरेर तीन दिन भित्र जनरल अस्पताल बनाउने तयारीमा आफूहरू जुटेको अस्पतालका सञ्चालक डा. अबुलहैस अन्सारीले बताउनुभयो ।
विगत एक सातादेखि बीरगंज हेल्थ केयरमा कुनै पनि नयाँ सङ्क्रमित नआएको र तीन सयभन्दा बढी सङ्क्रमित निको भई घर फर्किएपछि अस्पताललाई अब जनरल सेवामा लैजाने तयारी गरिएको अन्सारीले बताउनुभयो ।
उहाँले अगामी दिनमा बीरगंजमा फेरी सङ्क्रमित बढ्यो भने कोभिड अस्पताल बनाइने र अवस्था नियन्त्रणमा नै रहे जनरल अस्पतालको रूपमा सेवा प्रदान गरिने दाबी गर्नुभयो ।
यसैबिच जनरल सेवा सञ्चालन भए पनि अस्पतालमा १५ बेडको कोभिड युनिट भने सञ्चालनमा रहने अन्सारीले बताउनुभयो ।
यता पर्साका प्रमुख जिल्ला अधिकारी अस्मान तमाङले पर्सामा कोरोना सङ्क्रमण नियन्त्रण तथा रोकथामका लागि परीक्षणलाई तीव्रता दिइएको तथा कन्टयाक ट्रेसिङ् र सङ्क्रमितको व्यवस्थापन प्रभावकारी भएको कारण कोरोना नियन्त्रणमा आएको दाबी गर्दै यसमा सबै जनताको सहयोग रहेकोले सफलता हात परेको बताउनुभयो ।
विगतमा कोरोना सङ्क्रमणको नियन्त्रण तथा रोकथामका कार्य व्यवस्थित रूपले सञ्चालन हुन नसक्दा बीरगंजमा सङ्क्रमितहरूको मृत्यु दर बढेको बताउँदै प्रमुख जिल्ला अधिकारी तामाङ्गले हाल नियन्त्रण तथा रोकथामका कार्यलाई प्रभावकारी रूपमा अगाडी बढाएपछि सङ्क्रमित हुनेको सङ्ख्या पनि घट्दै गएको र मृत्यु दर समेत अत्यन्त न्यून रहेको बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी तामाङ्गले पर्साको अवस्था असोज १ गतेबाट मात्रै सामान्य बन्न सक्ने दाबी गर्दै सङ्क्रमितको सङ्ख्या घट्दै गएको र मृत्युदर पनि न्यून बन्दै गएको भए पनि पर्सामा हाल पाँच सयभन्दा बढी सक्रिय सङ्क्रमितहरूको सङ्ख्या रहेको कारण तत्काल निषेधाज्ञा हटाउन नसकिने जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्