बर्दिबासमा आठ वटा छुट्टाछुट्टै गार्डेन निर्माण गरी वृक्षारोपण

बर्दिबास । रोटरी क्लब बर्दिबासले पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बर्दिबास चोकमा ८ वटा छुट्टाछुट्टै गार्डेन निर्माण गरेर वृक्षारोपण गरेको छ ।
बर्दिबासलाई फूलै फूलको शहर बनाउन गार्डेन निर्माण गरेर आधुनिक जातका बोटबिरुवा रोपिएको रोटरी क्लब बर्दिबासका अध्यक्ष हिरा गौतमले बताउनुभयो ।
व्यवसायी र संघसस्थाहरुबाट चन्दा सङ्कलन गरेर क्लबले करिब १५ लाख रुपैंया खर्चेर गार्डेनमा फलामको डण्डीको घेराबेरा लगाएर गार्डेनलाई संरक्षण गर्दै नयाँ बिरुवा रोपेको अध्यक्ष गौतमले बताउनुभयो ।
‘बर्दिबास उदयमान शहर हो । हामीले यसलाई सुन्दर, शान्त, स्वच्छ शहरको रूपमा विकास गर्न गार्डेन निर्माण गरेका हौँ, ’ अध्यक्ष गौतमले भन्नुभयो, ‘बजार सौन्दर्यीकरणका लागि फूल रोपेका छौँ ।’

बर्दिबासलाई सफा, सुन्दर बनाउन नागरिक स्तरबाटै भएको पहल र प्रयासलाई बर्दिबास नगरपालिकाका मेयर विदुर कुमार कार्कीले खुलेरै प्रशंसा गनुभएको छ । उहाँले भन्नुभयो, ‘फूल रोपनले बर्दिबासको मुलचोकको वातावरण मनमोहक बन्यो । यसले हाम्रो पहिचान पनि झल्काएको छ । सडक विभागसँग समन्वय गरेर पहिलो चरणमा बर्दिबास क्षेत्रमा पर्ने राजमार्गका अरू खाली स्थानहरूमा वृक्षा रोपन र फूल रोपनको कामलाई अगाडी बढाउँछु ।’
प्रदेश २ का प्रदेश सभा सदस्य शारदा देवी थापाले रोटरी क्लबले बर्दिबासलाई हराभरा बनाउन गरेको प्रयासमा सबैले सहयोग गरेको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्