‘आर्थिक स्थायित्वसँग सम्बन्धित परिसूचकहरु सकारात्मक’
काठमाडौं । नेपाल राष्ट्र बैकका गभर्नर महाप्रसाद अधिकारीकोले संक्रमणको अवधिमा समेत मुलुकको समष्टिगत आर्थिक स्थायित्वसंग संवन्धित परिसूचकहरु सकारात्मक रहेको बताउनु भएको छ ।
मंगलबार समसामयिक विषयमा बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतहरुसँगको भरचुवल अन्तरक्रिया कार्यक्रममा गभर्नर अधिकारीले निर्यातको स्थिरता, आयातमा भएको व्यवस्थापन, चालू खाता घाटामा उल्लेख्य सुधार, शोधनान्तर स्थिति २८२ अर्बले बचतमा रहेको र विदेशी विनिमय सञ्चिति १४ खर्बभन्दा माथि रहनुले आर्थिक क्रियाकलाप विस्तारमा सहयोग पुग्न सक्ने अवस्था रहेको उल्लेख गर्नु भयोे ।
गत भदौ २१ सम्म ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामा ३,९३८ अर्ब निक्षेप र ती संस्थाबाट .३,२५५ अर्ब कर्जा प्रवाह भएको जानकारी दिदै गभर्नर अधिकारीले पछिल्लो समय कर्जा स्रोत परिचालन अनुपात ७२ प्रतिशत रहनुले लगानीका लागि पर्याप्त साधन उपलब्ध भएको बताउनु भयो ।
गभर्नर अधिकारीले केही महिनादेखि करिब दुई खर्बको हाराहारीमा रहेको तरलतालाई अवसरका रुपमा लिन बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतहरुलाई आग्रह पनि गर्नुभयो ।
कार्यक्रममा नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष भुवनकुमार दाहाल, डेभलपमेन्ट बैंकर्स एसोसिएसनका अध्यक्ष गोविन्दप्रसाद ढकाल र नेपाल वित्तीय संस्था संघका अध्यक्ष सरोजकाजी तुलाधरले कोभिड–१९ को महामारीबाट वित्तीय क्षेत्र पनि प्रभावित भएको उल्लेख गर्दै वित्तीय संस्थालाई बचाउन राष्ट्र बैंकले अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने सुझाव दिनु भएको थियो ।








प्रतिक्रिया राख्नुहोस्