निजी वायुसेवा कम्पनीहरुको १६ अर्ब बढी आर्थिक नोक्सानी
काठमाडौं । कोरोना महामारीका कारण नेपालको आन्तरिक उडानमा रहेका निजी क्षेत्रका वायुसेवा कम्पनीले १६ अर्बभन्दा बढी आर्थिक नोक्सानी बेहोर्नु परेको छ ।
महामारी नियन्त्रणका लागि सरकारले लागू गरेको बन्दाबन्दी र जारी निषेधाज्ञाको अवधिमा आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान ठप्प हुँदा ती कम्पनीले ठूलो आर्थिक नोक्सानी बेहोरेका हुन् ।
नेपाल वायुसेवा सञ्चालक सङ्घका प्रवक्ता योगराज कँडेल शर्माले महामारीको प्रभावका कारण हवाई सेवा कम्पनीहरु बुद्ध एयर, यती एयरलाइन्स, श्री एयरलाइन्स लगायत विभिन्न १० कम्पनीका हेलिकोप्टरको व्यवसायको मोटामोटी क्षतीको आधारमा तथ्याडंक संकलन गरिएको हो । सन् २०२० मा निजी क्षेत्रका हवाई कम्पनीले २५ अर्ब भन्दा बढी आर्थिक नोक्सानी बेहोर्ने आँकलन गरिएको छ ।
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी डा.धनञ्जय रेग्मीले बन्दाबन्दीको अवधिमै पर्यटन तथा हवाई क्षेत्रले ३७ अर्ब भन्दा बढी आर्थिक नोक्सानी बेहोरेको बताउनुभयो । बोर्डले हालै गरेको एक अध्ययनअनुसार बन्दाबन्दीको अवधिमा मुलुकको पर्यटन तथा हवाई क्षेत्रले ४१ अर्ब नोक्सानी बेहोर्ने अनुमान गरेको थियो ।
बोर्डले तयार गरेको कोभिडपछिको पर्यटन क्षेत्रको असर सम्बन्धी अध्ययन अनुसार वैध रुपमा सञ्चालन भएको पर्यटन क्षेत्रमा एक खर्ब ५३ अर्बको लगानी छ भने दुई लाख ७३ हजारले प्रत्यक्ष रोजगारी पाएका छन् ।
सरकारले कोभिड–१९ का कारण थला परेको पर्यटन क्षेत्रलाई राहत एवं पुनःरुत्थानका लागि चालू आर्थिक वर्षको बजेटमा एक खर्बको पुनःरुत्थान कर्जाका साथै ५० अर्बको पुनःरुत्थान कोषको व्यवस्था गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्