तपाईँ सुन्दै हुनुहुन्छः

अछाममा पूर्ण बन्दः मंगलसैनमा स्वरुप फेरियो, साँफेबगरमा खुलाईयो

अछाम । अछामका मंगलसैन र साँफेबगर नगरपालिकाले विगत २ हप्तादेखि लगाईरहेको पुर्ण बन्दाबन्दीको स्वरुप फेरिएको छ । जिल्लाको मंगलसैन नगरपालिकाले बन्दाबन्दीको स्वरुप परिवर्तन गरेको छ भने साँफेबगर नगरपालिकाले बन्दाबन्दी फिर्ता लिएको छ ।

मंगलसेन नगरपालिकाको सोमबार बसेको नगर संकट व्यवस्थापन केन्द्रको निर्णायानुसार भदौ २३ गतेदेखि २९ गतेसम्म आंशिक रूपमा बन्दाबन्दी खुल्ने भएको नगर प्रमुख पदम बहादुर बोहराद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ ।

नगरपालिकाका ५८२ जनाको पिसिआर परिक्षण गरेकोमा ११३ जनामा कोरोना संक्रमण देखिएकोमा हाल आइसोलेसनमा ५ जना र क्वारेन्टाइनमा १२ जना रहेका छन् । कोभिड–१९ संक्रमणको रोकथामलाई प्रभावकारी बनाउन बन्दाबन्दी नै मुख्य विकल्प भएको र भदौ २९ गते राति १२ बजेसम्म बन्दाबन्दीको स्वरुप फेरिने नगरपालिकाले जनाएको छ ।

बजार क्षेत्र प्रत्येक दिन बिहान १० बजेसम्म, आकस्मिक कार्य र खाद्यान्न ढुवानी प्रयोजनको लागि मात्र यातायात जुनसुकै समयमा पनि सञ्चालन गर्न पाइने भएको छ ।

त्यस्तै कृषि तथा पशु उपज संकलन एवं विक्री वितरण केन्द्र (हाटबजार) बिहान ६ बजेदेखि ९ बजेसम्म र साँझ ५ बजेदेखि ७ बजेसम्म सञ्चालन गरिने भएको छ भने मंगलसेन नगरपालिका कार्यालय र वडाहरुमा आवश्यक सेवा प्रवाह सञ्चालन हुनेछ ।

मंगलसेनमा रहेका राष्ट्रिय बाणिज्य बैंक र नेपाल इन्भेस्टमेन्ट बैंक भदौ २२ र २३ गते बिहान १० बजे देखि १ बजेसम्म सञ्चालन हुने छन् भने कृषि विकास बैंक र ग्लोबल आइएमइ बैंक भदौ २४ र २५ गते बिहान १० बजे देखि १ बजेसम्म खुल्ने छ्न । त्यस्तै महालक्ष्मी बैंक भदौ २६ र २८ गते बिहान १० बजे देखि १ बजेसम्म र सम्पुर्ण लघुवित्त वित्तीय तथा सहकारी संस्थाहरु भदौ २४ र २९ गते बिहान १० बजे देखि १ बजेसम्म खुल्ने भएका छन् ।

यस्तै साँफेबगर नगरपालिकाले लगाएको बन्दाबन्दीलाई खुलाइएको छ । बुधबार राती १२ बजेपछि लागु हुने गरि लकडाउन हटाईएको नगरका कार्यबाहक प्रमुख बिर्मला बुढथापाद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ ।

बन्दाबन्दी खुलाइए पनि कोरोना संक्रमणको जोखिम रहि आएकोले सम्पुर्णलाई स्वास्थ्य सुरक्षाका उपाय अपनाउन विज्ञप्तिमार्फत आग्रह गरिएको छ ।

साँफेबगरमा भदौ ९ गते देखि १६ गते राती १२ बजेसम्म पहिलो र गरि भदौ २३ गतेसम्म फेरी पुर्णरुपमा बन्दाबन्दी गरिएको थियो । कोरोनाका कारण ३ जनाको ज्यान गएको अछाममा हाल नौ सय १२ जना कोरोना संक्रमीत भैसकेका छन् भने आठ सय ४० जना निको भैसकेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button