सोलुखुम्बुबाट मन्दिरको मूर्ति चोरेर भागेका युवा ओखलढुङ्गामा पक्राउ

ओखलढुङ्गा । सोलुखुम्बुबाट मन्दिरको मूर्ति चोरेर भागेका एक युवा ओखलढुङ्गामा पक्राउ परेका छन् । सोलुखुम्बुको दुधकुण्ड नगरपालिका ८ स्थित चाँगेस्थान मन्दिरबाट मूर्ति चोरी गरेर भागेका सोही स्थानका ३५ वर्षीय रमेश मगर पक्राउ परेका हुन् ।
सोमबार दिउँसो करिब १ बजे ओखलढुङ्गा र सोलुखुम्बुको सिमाना नजिक पर्ने चाँगेस्थान मन्दिरका दुई वटा सिंहको मूर्ति हराएपछि मन्दिरका समितिले खोजी कार्य सुरु गरेको थियो । समितिले हराएका मूर्ति खोजी गर्न प्रहरीलाई समेत जानकारी गराएको थियो ।

घटनाको जानकारी पाउनसाथ खोजतलासमा खटिएको प्रहरी टोलीले मगरलाई छिमेकी जिल्ला ओखलढुङ्गाको सिद्धिचरण ११ स्थित एक होटेलबाट उनले चोरी गरी लगेको मूर्ति सहित पक्राउ गरेको सोलुखुम्बुका प्रहरी निरीक्षक मन्दिप चौहानले बताउनुभयो । उहाँका अनुसार मगरले एक जोडीसिंहको मूर्ति तथा सोही मूर्ति राख्ने बाकस, चाँदीको तीन खण्डे टिका थाली १ थान, चाँदीको सानो त्रिशूल १ थान र भक्तजनले मन्दिरमा चढाएका सिक्का पैसा चोरी गरेको खुलेको छ ।
पक्राउ परेका उपर कानुनी कारबाही तथा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । सोलुखुम्बुबाट मूर्ति चोर ओखलढुङ्गामा ल्याई बिक्री गर्न लागेको सूचनाका आधारमा उनलाई पक्राउ गर्न ओखलढुङ्गा प्रहरीले सोलुखुम्बु प्रहरीलाई सहयोग गरेको थियो ।








प्रतिक्रिया राख्नुहोस्