तपाईँ सुन्दै हुनुहुन्छः

कालाबजारी गर्ने ५ पसललाई कारवाही 

वीरगञ्ज । कोरोना संक्रमणको कारण जनजीवन प्रभावित भएको बेला कालाबजारी गरी आम उपभोक्ता ठगि गरेको आरोपमा वीरगञ्जको राधेमाई र बिन्दबासीनीमा रहेका ५ वटा पसललाई स्थानिय प्रशासनले ७० हजार जरिवाना गर्नुको साथै म्याद नाघेका खाद्य पदार्थ नष्ट गरेको छ ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय, पर्साको संयुक्त अनुगमन टोलीले वीरगंज महानगरपालिकाको राधेमाई टोल र बिन्दबासीनीमा रहेका विभिन्न खाद्यन्न तथा किराना पसलहरुलाई अनुगमन गरेको छ ।

सो क्रममा मूल्य सूची नराखेको तथा खरिद र बिक्री विल उपलब्ध गराउन नसकेको एवं म्याद गुज्रेका समानहरु सञ्चित गरी राखेको आरोपमा विभिन्न ५ वटा पसलहरुलाई उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा २८ बमोजिम जरिवाना गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ्गले जानकारी दिनुभयो ।

अनुगमनको क्रममा पहिलो पटक कारवाहीमा परेकाहरुलाई आईन्दा खाद्य बस्तुहरुको कालोबाजारी तथा मूल्य बृद्धि गरेको भेटिएमा कानून बमोजिम कडा कारवाही गरिने चेतावनी दिईएको प्रमुख जिल्ला अधिकारी तामाङ्गले बताउनुभयो ।

सो अवसरमा घटनास्थलमै खाद्यान्नको कालाबजारी गर्ने वीरगञ्ज महानगरपालीका वडा नम्बर १९ बिन्दबासीनीको मनिष गल्ला भण्डार एण्ड ट्रेड सप्लायर्स र शशि किराना सन्दिप किराना तथा गल्ला भण्डारलार्ई २०–२० हजार रुपैया जरिवाना तथा वीरगञ्ज महानगरपालीका वाडा नम्बर १३ राधेमाई टोलको आसिका जनरल स्टोर र चन्दन ट्रेड ईन्टरनेसनललाई ५–५ हजार रुपैया जरिवाना गरिएको प्रमुख जिल्ला अधिकारी तामाङ्गले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button