तपाईँ सुन्दै हुनुहुन्छः

गत २४ घण्टामा १ हजार ८ सय १४ जना संक्रमणमुक्त

काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण आज थप ९ जनाको निधन भएको छ । योसँगै कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २ सय ८९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आजको नियमित प्रेस व्रिफिङ्मा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले मोरङ र झापाका  ६४ र ४५ वर्षीया महिलाको  निधन भएको जानकारी दिनुभयो ।

त्यसैगरी मोरङका ४५ वर्षीय पुरुष, पर्साका ७७ वर्षीय, धनुषाको ३५ वर्षीय, काठमाडौंका ७४ वर्षीय, ६८ वर्षीय र ८५ वर्षीय पुरुष र चितवनका ७० वर्षीय गरी ७ जना पुरुषको निधन भएकोे जनाकारी दिनुभयो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा  १०  हजार ३ सय ८२ जनामा  गरिएको परिक्षणमा ९ सय ८० जनामा संक्रमण पुष्टि भएको छ ।

हालसम्म कोरोना भाइरस संक्रमितको सख्या ४६ हजार २ सय ५७ पुगेको मन्त्रालयले जनाएको छ ।

यस्तै आज काठमाडौँमा २ सय  ९० जना,  ललितपुरमा ३२ जना र भक्तपुरमा ३२ जनामा कोेरोना भाइरसको संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी गत २४ घण्टामा थप १ हजार ८ सय १४ जना संक्रमण मुक्त भएका छन् । योसहित हालसम्म निको हुनेको संख्या २८ हजार ९ सय ४१ पुगेको  मन्त्रालयका प्रवक्ता प्रा.डा.गौतमले जानकारी दिनुभयो ।

यस्तै सक्रिय संक्रमितहरुमध्ये १ सय ७४ जनाको आइसियु र २७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

कोरोना भाइरस संक्रमण मुक्त भएर घर फर्केकाहरुले मृत्युको मुखबाट बाँचेर आएको र संक्रमति हुँदाका अनुभव कहालीलाग्दो भएको सुनाउने गरेको स्मरण गर्दै मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले संक्रमितहरुको अनुभाव सुनेर सिक्न आग्रह गर्नुभयो ।

प्रवक्ता गौतमले कोरोना संक्रमित हुँदा अग्रपंक्तिमा काम गर्ने स्वास्थ्यकर्मी सुरक्षाकर्मी लगायतलाई सबैले उत्प्रेरणा दिनुपर्नेमा जोड दिनुभयो ।

प्रवक्ता गौतमका अनुसार सरकारले वीर अस्पताललाई कोभिड अस्पतालको रुपमा सञ्चलन गर्ने र वीर अस्पतालबाट दिइने नियमित स्वास्थ्य सेवा राष्ट्रिय ट्रमा सेन्टरबाट सञ्चालन गर्ने निर्णय गरेको छ ।

त्यसै गरी विभिन्न  शिक्षण संस्थाहरुमा स्वास्थ्यका विभिन्न विधाहरुमा अध्ययनरत विद्यार्थीहरुलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तथा स्वास्थ्य सेवा विभागले आवश्यकता अनुसार कोभिड १९ रोकथाम र  नियन्त्रणमा सम्झौता गरी कार्य गर्ने गराउने निणर्य पनि  भएको मन्त्रालयले जनाएको छ ।

कोभिडका सन्दर्भमा राष्ट्रिय मार्गचित्र निर्धारण गर्न मन्त्रालयका विशेषज्ञ डा. महेन्दप्रसाद्र श्रेष्ठको संयोजकत्वमा एक समिति गठन गरिएको पनि मन्त्रालय प्रवक्ता गौतमले जानकारी दिनुभयो ।

हालसम्म कोरोना संक्रमणको कुनै पनि औषधि पत्ता नलागेको अवस्थामा कोरोना उब्जाइएको समस्या हो भनेर सामाजिक संजालहरुमा भ्रम छर्नेलाई कानुन अनुसार कारवाही गर्ने पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रलयका प्रवक्ता प्रा.डा. गौतमले जानकारी दिनुभयो ।

त्यसै गरी त्रिवी शिक्षण अस्पताल र धुलिखेल अस्पतालमा गरी ६० बेड आइसियु सञ्चालन गर्न अर्थ मन्त्रालयबाट बजेट निकासा भएको मन्त्रलयका प्रवक्ता गौतमले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button