तपाईँ सुन्दै हुनुहुन्छः

फलफूलका नर्सरी राख्न व्यस्त सल्यानका किसान

सल्यान । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसबाट देशलाई बचाउन सरकारले लकडाउन गरे पनि सल्यानका किसान अहिले फलफूलका नर्सरी राख्न व्यस्त छन् ।

विशेष गरी कागती, सुन्तला, टिमुरका नर्सरी राख्न यति बेला सल्यानका किसानहरू व्यस्त हुन थालेका हुन ।

नर्सरी व्यवसायमा थोरै लगानीबाट पनि मनग्य आम्दानी गर्न सकिने बागचौर नगरपालिका ९ का किसान प्रकाश डाँगीले बताए । सामाजिक दुरी कायम गरी २० किलो फलफूल नर्सरी राखिएको उनको भनाई छ । उनले भने किसानहरूको माग कागतीको बढी आउने भएकाले मैले यो वर्ष २० किलो कागतीका मात्रै नर्सरी राखेको छु ।

गत वर्ष नर्सरीबाट मात्रै १५ लाख आम्दानी गरेका डाँगीले यो वर्ष भने बिउँ बढाएको बताए । राम्रो बिउँ परेको खण्डमा शतप्रतिशत बिरुवा उम्रिने बताउँदै डाँगीले थोरै लगानीबाट पनि राम्रो आम्दानी लिन सकिने बताए ।

यस्तै बागचौर नगरपालिका १० पिपलनेटाका जनक वि.कले पनि २० किलो कागतीको बिउ राखेका छन् । विशेष गरी जिल्ला बाहिर बिरुवाहरूको माग अत्यधिक भएकाले आफूले कागतीको बिउ राखेको वि.कको भनाई छ ।

जिल्लामा पछिल्लो समय नर्सरी व्यवसाय तर्फ किसानहरूको आकर्षण बढी रहेको कृषि विकास कार्यालय सल्यानले जनाएको छ । जिल्लामा २२ वटा व्यावसायिक नर्सरी दर्ता भएको भएता पनि ५० भन्दा बढीले नर्सरी व्यवसाय सञ्चालन गर्दै आइरहेको कृषि विकास कार्यालय सल्यानका सूचना अधिकारी रेशम बहादुर बस्नेतले बताए । उनले भने विशेष गरी बागचौर नगरपालिका, छत्रेश्वरी गाउँपालिका र त्रिवेणी गाउँपालिकामा व्यावसायिक नर्सरी हुँदै आइरहेको छ ।

गत आर्थिक वर्ष २०७६÷०७७ मा पाँच करोडको नर्सरीबाट विभिन्न फलफूलका बिरुवा उत्पादन भएको कार्यालयले जनाएको छ । उत्पादन भएका बिरुवा मध्ये २० लाख जिल्ला बाहिर निकासी भएको छ भने ८ लाख जिल्लामा खपत भएको बस्नेतले बताए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button