डोटीमा एक महिनामा ३० जना स्क्रवटाइफसका बिरामी फेला

डोटी । डोटी जिल्लामा एक महिनाको अवधिमा ३० जना स्क्रवटाइफसका बिरामी फेला परेका छन् । गत श्रावण २० गते देखि भाद्र २० गतेसम्म उक्त सङ्ख्यामा स्क्रवटाइफसका बिरामी फेला परेका हुन् ।
बिरामीहरूमध्ये केहीमा जटिल समस्या देखिएका कारण आई.सी.यु. आवश्यक पर्ने भएकाले जिल्ला बाहिर रेफर गरिएको जिल्ला अस्पताल डोटीका एम.डि.जि.पि. डाक्टर प्रमोद भट्टले बताए ।
माइट नामक किराको टोकाइबाट स्क्रवटाइफसको संक्रमण फैलिने र यो रोग रगतका माध्यमबाट शरीरका कलेजो, मस्तिष्क, फोक्सो र मिर्गौला लगायतका अङ्गमा प्रवेश गरी विभिन्न लक्षण देखा पर्ने डाक्टर भट्टले बताए ।
यसबाट बच्न सरसफाइमा विशेष जोड दिनुपर्ने र ज्वरो आउने, टाउको दुख्ने लक्षण देखिएमा तुरुन्तै स्वास्थ्य संस्थामा चेकजाँच गराउनु पर्ने उनले बताए ।
स्क्रवटाइफसका बिरामीको सङ्ख्या बढ्दै गएपछि यसबाट बच्न सकिने उपायका बारेमा स्वास्थ्य कार्यालय डोटीमार्फत जनचेतना फैलाउने कार्य भइरहेको स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासिले जानकारी दिए ।








प्रतिक्रिया राख्नुहोस्