चितवनमा एक सङ्क्रमितको मृत्यु
चितवन-चितवन मेडिकल कलेजमा उपचारका क्रममा एक पुरुषको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१५ का ७० वर्षीय वृद्ध रहेको अस्पतालले जनाएको छ । अस्पतालका निर्देशक डा. दयाराम लम्सालका अनुसार श्वासप्रश्वासमा समस्या देखिएपछि भदौ १२ गते अस्पताल भर्ना भएका ती वृद्धमा १३ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।
सङ्क्रमण पुष्टि भएपछि अस्पतालको कोभिड सघन उपचार कक्षमा राखी उपचार भइरहेको थियो । आज बिहान उहाँको ८ बजे मृत्यु भएको हो । यससँगै जिल्लामा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या २२ पुगेको छ । चितवनका १२, मकवानपुरका पाँ, नवलपरासी सुस्ता पूर्वका दुई, बारा, गोर्खा र कैलालीका एक÷एक जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको हो ।
प्रभावकारी बनाउँदै भरतपुर अस्पताल यस क्षेत्रको कोरोना उपचारको नेतृत्व गरिरहेको भरतपुर अस्पतालले कोरोना उपचार थप प्रभावकारी बनाउने भएको छ । छ वटा भेन्टिलेटरसहितको सघन उपचार कक्ष रहेकामा भेन्टिलेटर सङ्ख्या १६ पुर्याएर उपचार प्रभावकारी बनाउन लागेको हो ।
हाल अस्पतालको कोभिड सघन उपचार कक्षमा दुई र साधारण सघन उपचार कक्षमा चार भेन्टिलेटर भएकामा शनिबार मात्रै तीन वटा भेन्टिलेटर थप गरिएको छ । अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा श्रीराम तिवारीका अनुसार दातृ निकायबाट प्राप्त तीनवटा भेन्टिलेटर स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पठाएपछि जडान गरिएको छ ।
कोभिड सघन उपचार कक्ष १० शय्याबाट १६ पुर्याइने भएको छ । तीनवटा भेन्टिलेटर साधारण सघन उपचार कक्षमा जडान गरिएको छ । कोभिडबाट साधारणमा लैजान नमिल्ने भएकाले साधारणमा जडान गरेर तयारी हालतमा राखिएको हो । थप पाँच भेन्टिलेटरका लागि शुक्रबार बोलपत्र आह्वान गरिएको छ । यससँगै बिरामीलाई धेरै अक्सिजन दिन सक्ने तीनवटा उपकरण पनि खरिद गर्न लागिएको उहाँले जानकारी दिनुभयो । मन्त्रालयले सो प्रयोजनका लागि रु तीन करोड बजेट पठाएको छ ।
अस्पतालमा बिग्रिएर बसेका दुईवटा भेन्टिलेटर पनि मर्मत गरिँदैछ । ती बन्दै गर्दा अस्पतालमा १६ भेन्टिलेटर हुनेछन् । तिवारीले कोभिड उपचारका लागि डिजिटल एक्सरे जडान गरिने बताउनुभयो । उहाँले भन्नुभयो, “एक्सरे आइसकेको छ, हामी आजभोलिमै जडान गर्छौँ ।” अस्पतालले १६ शय्याको कोभिड सघन उपचार कक्षमध्ये छ वटामा शङ्कास्पद र १० वटामा प्रमाणित भएकाहरुलाई राख्नका लागि छुट्टाछुट्टै व्यवस्था मिलाएको छ । अस्पतालमा सङ्क्रमित राख्नका लागि आइसोलेसन शय्या थप गरिएको छ ।
अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीका अनुसार अस्पतालले १०० आइसोलेसन शय्या थप गरेको हो । यसअघि अस्पतालमा १० शय्याको कोभिड सघन उपचार कक्षसहित ७५ शय्याको आइसोलेसन सञ्चालनमा रहेको थियो । कोरोना सङ्क्रमितलाई उपचारमा सहजताका लागि आइसोलेसनको शय्या थप गरिएको उहाँले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्