जुगलका पहिरो पीडितका लागि पर्साको ठोरीबाट ६ लाख बढी सहयोग
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जुगल गाउँपालिकाका पहिरो पीडितहरुको लागि पर्साको ठोरी ४ मा गठन भएको राहत संकलन समितिले ६ लाख भन्दा संकलन गरि सहयोग गरेको छ ।
शनिबार बिहार्न पर्साको ठोरीबाट आएको एक टोलीले अस्थायी आवास क्षेत्र जुगल गाउँपालिका–१ स्थित बाँसखर्क पुगेर ६ लाख ४३ हजार रुपैयाँ नगद सहयोग गरेको नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति पर्साका अध्यक्ष निमा लामा पाख्रिनले बताउनुभयो ।
गत भदौ २ गते वडा नं. ४ को घ्याङडाडामा वडाध्यक्ष बई बहादुर तामाङको अध्यक्षतामा बसेको सामाजिक अगुवाहरुको भेलाले पहिरोमा परि घाइते भएका, आफन्त बेपत्ता भएर र मृत्यु भएर शोकमा रहेकाहरुलाई राहत वितरण गर्ने उदेश्यले शिक्षक दल बहादुर स्याङबोको संयोजकत्वमा राहत संकलन कार्यलाई व्यवस्थित र पारदर्शी बनाउन अभियन्ताको रुपमा १३ सदस्यीय समिति गठन गरेको थियो । समितिले नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति पर्सा तथा नेपाल तामाङ घेदुङ ठोरी गापा कार्यसमितिसंग समन्वय गरेर देश तथा परदेशबाट सहयोग रकम जुटाएको समिति संयोजक शिक्षक स्याङ्बोले जानकारी दिनुभयो ।
पहिरोले पूर्ण रुपमा घर क्षति भएका र आफन्त समेत पहिरोमा गुमाएका १० घरधुरीलाई जनही रु ३० हजार, घरमात्र क्षति भएर विस्थापन भएका १८ घरधुरीलाई जनही रु १८ हजार ५ सयका दरले र एक जना घाइतेलाई रु १० हजार राहत रकम प्रदान गरिएको छ ।
समितिमार्फत संकलित रकम शनिबार प्रभावित क्षेत्रमा पुगेर पीडित परिवारलाई उपलब्ध गराइएको अध्यक्ष पाख्रिनले बताउनुभयो ।
साउनको ३० गते लिदीमा गएको पहिरामा परेर ३७ ज्यान गुमाए भने ३७ घर पुरिएका थिए २ जना बेपत्ता छन् ।








प्रतिक्रिया राख्नुहोस्