कोरोनाका बीच जनकपुरधाममा निःशुल्क स्वास्थ्य शिविर
जनकपुरधाम । कोरोना संक्रमणका कारणले नियमित स्वास्थ्य सेवा प्रभावित बनेको बेलामा जनकपुरमा स्कूल अफ डेमोक्रेसी कोभिड १९ क्विक रेस्पोन्स टिमले आज निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ ।
स्कुल अफ डेमोक्रेसीले कोरोना महामारीको समयमा अन्य बिरामीको उपचार प्रभावित भएको हुँदा जनकपुरधाम उपमहानगरपालिका वढा नं १ धर्मवान टोलमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको हो ।
स्वास्थ्य शिविरमा १ सय ४७ जना बिरामीले उपचार गराएको स्कुल अफ डेमोक्रेसीका सदस्य राकेश बिक्रम साहले जानकारी दिनुभयो ।
स्वास्थ्य शिविरमा विभिन्न रोगका बिरामीहरुले उपचार सेवा पाउनु भएको थियो । निःशुल्क स्वास्थ्य सेवाका साथै औषधि पनि उपलब्ध गराइएको छ । निःशुल्क स्वास्थ्य शिविरलाई थप प्रभावकारी बनाउन सोही स्थानमा ल्याबको समेत व्यवस्था गरिएको थियो ।
अभियानलाई प्रत्येक साता शनिबार निरन्तर दिइने भएको छ । अलग अलग वडामा प्रत्येक साता निःशुल्क स्वास्थ्य शिविरको आयोजना समेत गरिने स्कूल अफ डेमोक्रेसी कोभिड १९ क्विक रेस्पोन्स टिमले जनाएको छ ।
निःशुल्क स्वास्थ्य शिविरमा जेनरल फिजिसियनहरु डा. शरद यादव, डा. बिपिन यादव, डा. अभिजित साह, दात मुख रोग विशेषज्ञ डा. सज्जन ठाकुर, गाइनोका डा मनिषा भारद्वाज, अर्थोपेडिकका डा कुमार सम्भव, अमित रन्जन मिश्रा, साइक्याट्रिकका डा रबिन झाले शिविरमा सेवा दिनु भएको थियो ।
त्यस्तै, बाल रोग विशेषज्ञ डा विकास कुमार साह, नाक कान घाँटी विशेषज्ञ डा सन्तोष साह, सर्जन डा विजय कुमार साह, फिजियोथेरेपिष्ट राजु साह लगायतकाले निःशुल्क रुपमा उपचार प्रदान गर्नु भएको थियो ।
कोरोनालाई मध्यनजर गरेर सुरक्षा सावधानी सहित शिविरको आयोजना गरिईएको र अभियान निरन्तर रुपमा चलाउने भएको आयोजक मध्येका एक निर्मल कुमार चौधरीले जानकारी दिनु भयो ।








प्रतिक्रिया राख्नुहोस्