तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश नं २ सरकारले ५० थान भेन्टिलेटर खरिद गर्ने

जनकपुरधाम । प्रदेश नंं २ सरकारले एक साता भित्रमा ५० थान भेन्टिलेटर खरिद गर्ने निर्णय गरेको छ ।

प्रदेश सङ्कट व्यवस्थापन केन्द्र ( पिसिएमसी ) को बैठकले विभिन्न जिल्लाहरूमा कोरोनाका लक्षणसहितको बिरामीहरू फेला पर्न थालेको र कतिपय गम्भीर प्रकारको बिरामीको आइसियु तथा भेन्टिलेटरको अभावमा मृत्यु भएपछि सरकारले चाँडो प्रक्रियामार्फत भेन्टिलेटर खरिद गर्ने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवले जानकारी दिनुभयो ।

प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पतालमा रहेका आठ वटा आइसियु तथा दुई वटा भेन्टिलेटर कोरोनाका गम्भीर बिरामीको उपचार गर्नका लागि पर्याप्त नभएको भन्दै भेन्टिलेटर आवश्यक रहेको भन्दै गत वैशाख ८ गते नै ५० वटा भेन्टिलेटर खरिद गर्ने निर्णय भए पनि सामानको अभाव तथा गुणस्तरीय सामानको आपूर्ति नदेखेर ढिलाइ भएको भए पनि अब ढिला नगर्ने मन्त्री यादवले जानकारी दिनुभयो ।

प्रादेशिक अस्पताल जनकपुरधाममा कोरोनाका बिरामीको उपचार प्रभावकारी भएका कारणले धेरै गम्भीर प्रकारको कोरोनाका बिरामीहरू पनि निको भएको छ । थप सुविधाहरू भएको खण्डमा मान्छेहरूको जीवन रक्षा गर्नका लागि थप मद्दत पुग्ने माग विभिन्न पक्षबाट आउन थालेपछि प्रदेश सरकारले शीघ्र प्रक्रियामार्फत सामानको आपूर्ति गर्न लागेको छ ।

यसका साथै भेन्टिलेटरसहितको कोरोना अस्पताललाई राम्रोसँग सञ्चालनका लागि स्वास्थ्यका कर्मचारी पनि लोकसेवा आयोगमार्फत भर्ना गर्ने जनाएको छ । जनशक्तिको अभावमा कुनै पनि स्वास्थ्य उपकरण सञ्चालन सहज रहेको छैन ।

महोत्तरीको जलेश्वरस्थित जिल्ला अस्पतालमा पाँच थान भेन्टिलेटर खरिद भए पनि जनशक्तिको अभावमा हालसम्म सञ्चालन हुन सकेको छैन । प्रदेश सरकारको बजेटबाट नै अस्पताल आफैले खरिद गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button