तपाईँ सुन्दै हुनुहुन्छः

बीरगंजमा एक कोरोना सङ्क्रमितसहित दुई जनाको मृत्यु

फाइल तस्बिर

वीरगञ्ज । वीरगञ्जमा थप एक कोरोना सङ्क्रमित र कोरोना सङ्क्रमणको लक्षण भएका एक बालकको मृत्यु भएको छ ।

कोरोना सङ्क्रमित एक पुरुषको गएराति र कोरोना सङक्रमणको लक्षण भएका बालकको आज बिहान उपचारको क्रममा मृत्यु भएको हो ।

नारायणी अस्पतालको अस्थायी कोभिड गण्डक अस्पतालमा बिगत १५ दिनदेखि उपचाररत पर्सा पकाहमैनपुर गाँउपालिका वडा नम्बर २ निवासी ७५ वर्षीय एक पुरुषको कोरोना सङ्क्रमणका कारण गएराति मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता डा.अतुलेशकुमार चौरसियाले बताउनुभयो ।

सङ्क्रमण पुष्टि भएपछि भदौं ५ गते कोभिड अस्पताल भर्ना भएका ७५ बर्षीय पुरुष क्षयरोगका बिरामी हुन् भने उनमा पछिल्लो समय दुवै फोक्सोमा कडा खालको निमोनिया समेत देखिएको डा.चौरसियाले बताउनुभयो ।

यसैगरी वीरगञ्जको नारायणी अस्पतालमा उपचारको क्रममा आज बिहान पर्साको बिरुवागुठी घर भएका १२ वर्षीय बालकको मृत्यु भएको डा.चौरसियाले जानकारी दिनुभयो ।

शुक्रबार नारायणी अस्पतालमा भर्ना भएका बालकमा ज्वरो र दुवैतर्फ छातीमा कडा खालको निमोनिया देखिएको उहाँले बताउनुभयो ।

मृतक बालकको स्वाब सङ्कलन गरी पिसीआर परिक्षणका लागि प्रयोगशालामा पठाइएको र रिपोर्ट आउन बाँकी रहेको डा.चौरसियाले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button