तपाईँ सुन्दै हुनुहुन्छः

बुटवलमा थप दुई सङ्क्रमितको मृत्यु

रुपन्देही । बुटवलस्थित धागो कारखानामा रहेको कोरोना विशेष आइसोलेसन अस्पतालमा थप दुई जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

लुम्बिनी प्रादेशिक अस्पतालद्वारा सञ्चालित आइसोलेसन अस्पतालमा नवलपरासीकी एक महिला र बुटवलका एक पुरुषको मृत्यु भएको हो ।

अस्पतालका कोरोना फोकल पर्सन डा. सुदर्शन थापाले पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका वडा नं. २ की ३७ वर्षीय महिला र बुटवल उपमहानगरपालिका वडा नं. ११ का ४० वर्षीय पुरुषको मृत्यु भएको जानकारी दिनुभयो ।

कोरोना संक्रमण पुष्टि भएपछि भदौ १७ गते आइसोलेसनमा भर्ना भएकी महिलालाई शुक्रवार रातीदेखि भेन्टिलेटरमा राखिएको थियो । कोरोना संक्रमण बाहेक अरू कुनै स्वास्थ्य समस्या नदेखिएको भए पनि शनिवार बिहान ६ बजे महिलाको मृत्यु भएको डा. थापाले जानकारी दिनुभयो ।

त्यस्तै बुटवल उपमहानगरपालिका ११ का ४० वर्षीय पुरुषको शुक्रबार राती सवा ११ बजे मृत्यु भएको हो । उनी भदौ १५ गतेदेखि अस्पतालमा भर्ना भएको र चार दिनदेखि भेन्टिलेटरमा राखि उपचार भइरहेको अवस्थामा मृत्यु भएको छ । उनमा पनि कोरोना संक्रमण बाहेक अन्य कुनै स्वास्थ्य समस्या नदेखिएको थापाले बताउनुभयो ।

अस्पतालको आइसियुमा अहिले १४ जना उपचाररत रहेका छन् । ती मध्ये २ जनाको गम्भीर अवस्थामा भेन्टिलेटरमा राखी उपचार भइरहेको डा. थापाले जानकारी दिनुभयो ।

योसँगै रुपन्देही जिल्लाका १५ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । रुपन्देहीमा मृत्यु हुने कोरोना सङ्क्रमितको सङ्ख्या भने पछिल्लो तीन दिनमा मात्रै ८ पुगेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button