एकसातामा पर्सामा संक्रमितभन्दा निको हुने धेरै

वीरगञ्ज । पर्सा जिल्लामा पछिल्लो केही दिनयता कोरोनाको नयाँ सङ्क्रमितहरूको संख्या घट्दै गएको छ भने कोरोनामुक्त भई घर फर्किनेको संख्या उल्लेख्यरुपमा बढ्दै गएको छ ।
भदौ १७ गतेसम्म कुल २ हजार २ सय ७५ सङ्क्रमित फेला परिसकेको पर्सा जिल्लामा पछिल्लो सात दिनमा कोरोनामुक्त भई घर फर्किनेको सङ्ख्या आशलाग्दो देखिएको हो । भदौ १० गते देखि १७ गतेसम्मको एक साता भित्र ४ सय ७८ जना सङ्क्रमितहरू कोरोनामुक्त भएका छन् ।
जिल्ला प्रशासन कार्यालय पर्साले उपलब्ध गराएको तथ्याङ्कअनुसार जिल्लामा पछिल्लो सात दिनमा ४ सय ७८ जना सङ्क्रमित उपचारपश्चात् सङ्क्रमणमुक्त भई घर फर्किएका छन् भने सोही अवधिमा थप २ सय २८ जना सङ्क्रमित थपिएका छन् । थपिएका कोरोना सङ्क्रमितहरूको सङ्ख्याभन्दा कोरोनामुक्त हुनेको सङ्ख्या २ सय ५० ले बढी रहेको छ ।
पछिल्लो सात दिनमध्ये भदौ १७ गते साँझ सबैभन्दा बढी १ सय ९ जना कोरोना संक्रमण निको भई घर फकिएका छन् भने भदौ ११ गते १ सय ३ जना सङ्क्रमितहरू कोरोना निको भई घर फर्केका थिए ।
यता भदौ १७ गते १४ जना सङ्क्रमित थपिएका थिए भने भदौ ११ गते २४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । त्यस्तै भदौ १० गते विभिन्न उमेर समूहका ६६ जना उपचारपश्चात् कोरोना निको भई घर फर्केका थिए भने त्यस दिन थप १९ जनामा कोरोना पुष्टि भएको थियो ।
त्यसरी नै भदौ १३ गते विभिन्न उमेर समूहका ६१ जना सङ्क्रमण निको भई घर फर्केकोमा सो दिन जिल्लामा थप ३१ जनमा सङ्क्रमण पुष्टि भएको थियो । त्यस्तै भदौ १४ गते ३७ जना निको भई घर फर्केका थिए भने ४७ जनामा सङ्क्रमण पुष्टि भएको थियो ।
स्थानीय प्रशासनले उपलब्ध गराएको तथ्याङ्क अनुसार भदौ १२ गते ३९ जना निको भई घर फर्केका थिए भने सो दिन थप ४२ जनामा सङ्क्रमण पुष्टि भएको थियो ।
त्यसै गरी भदौ १५ गत २१ जना निको भई घर फर्केका थिए भने थप ३४ जनामा कोरोना पुष्टि भएको थियो । भदौ १६ गते पनि ४२ जना कोरोना मुक्त भई घर फर्किएका थिए भने सो दिन ३४ जना थप नयाँ सङ्क्रमित भेटिएका थिए ।
पर्सामा एक साताको उल्लेखित तथ्याङ्कले कोरोना रोकथाम तथा नियन्त्रणकालागी जिल्ला बिपत्त व्यवस्थापन केन्द्रले अवलम्बन गरेको रणनीति सार्थक हुँदै गएको प्रमाणित गरेको छ ।
वीरगन्जमा कोरोना संक्रमण बढ्दैगएपछि गृह मन्त्रालयले ठोस काम गर्न नसकेको भन्दै पर्सामा प्रमुख जिल्ला अधिकारीको परिवर्तन समेत गरेको थियो । दुई साता अगाडी आउनु भएका पर्साका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जिल्लालाई एक महिना भित्र कोरोना सङ्क्रमणको रेड जोन बाट ग्रिन जोनमा पु¥याउने प्रतिबद्धता सहित काम सुरु गरेसँगै वीरगन्जमा सङ्क्रमणको दर घट्दै गएको छ ।








प्रतिक्रिया राख्नुहोस्