तपाईँ सुन्दै हुनुहुन्छः

बाढी पहिरोले सल्यानमा आठ सय रोपनी जमिन र बालीनालीमा क्षति


सल्यान । सल्यानमा गत भदौ १ र ३ गते आएको अविरल वर्षासँगैको बाढी पहिरोले आठ सय रोपनी बढी खेती बाली तथा जमिनमा क्षति पुगेको पाइएको छ ।

बाढी पहिरोले खेतीयोग्य जमिन कटान गर्नुका साथै बालीनालीमा क्षति पर्याएको छ ।

बाढी पहिरोले सबैभन्दा बढी बागचौर नगरपालिका र छत्रेश्वरी गाउँपालिकामा क्षति पुर्‍याएको कृषि विकास कार्यालय सल्यानले जनाएको छ ।

कृषि कार्यालय सल्यानका अनुसार बागचौर नगरपालिकामा तीन सय रोपनीमा लगाएको मकै, ५५ रोपनीमा लगाएको आलुमा क्षति गरेको छ ।

यस्तै बनगाड कुपिण्डे नगरपालिकामा ४५ रोपनीमा लगाएको धान बालीमा क्षति पुगेको कृषि कार्यालयका सूचना अधिकारी रेशम बहादुर बस्नेतले जानकारी दिनुभयो ।

दार्मा गाउँपालिकामा २० रोपनीमा लगाएको मकै, कुमाख गाउँपालिकामा ६० रोपनीमा लगाएको धान, छत्रेश्वरी गाउँपालिकामा एक सय रोपनीमा लगाएको मकै, ९५ रोपनीमा लगाएको धान, १५ रोपनीमा लगाएको सुन्तला र त्रिवेणी गाउँपालिकामा ७० रोपनीमा लगाएको मकै र ४० रोपनीमा लगाएको धानमा पूर्ण र आंशिक क्षति पुगेको बस्नेतको भनाई छ ।

क्षतिको पूर्ण विवरण आउन अझै केही समय लाग्ने बताउँदै सूचना अधिकारी बस्नेतले क्षति भएको ठाउँको स्थलगत अनुगमनपछि मात्र यकिन विवरण आउने बताउनुभयो । सबैभन्दा बढी खेतीयोग्य जमिनमा क्षति पुगेको उहाँको भनाई छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button