तपाईँ सुन्दै हुनुहुन्छः

कृषिमा जुट्दै क्षितिज नाट्य समूहका कलाकार


भद्रपुर, झापा । क्षितिज नाट्य समूह झापाका कलाकार यति बेला सामूहिक कृषि तथा फलफूल खेतीमा जुटेका छन् । विश्वमा महामारीको रूप लिइरहेको कोरोना भाइरसका कारण कलाकारिता क्षेत्र समेत प्रभावित भएपछि उनीहरू कृषिकर्मीमा जुटेका हुन् ।

झापाको बिर्तामोड–१ देवी पञ्चकन्या उत्तरमा निर्माणाधीन बहुभाषी, बहुजाति, बहु सांस्कृतिक संग्रहालयसहितको झापा नाटक घर परिसरमा क्षितिज नाट्य समूहले १० कट्ठा जग्गामा धान, दुई कट्ठामा ड्रागनफ्रुट, दुई कट्ठामा सयपत्री फूल खेती गरिरहेको छ भने एउटा टनेलमा सागसब्जी तथा बेर्ना उत्पादन गरिरहेको छ ।

स्थानीय समाजसेवी मनोज निरौलाले निःशुल्क प्रदान गरेको साढे तीन कट्ठा र उनकै ६ कट्ठा जग्गा १० वर्ष लिजमा लिएर क्षितिज नाट्य समूह झापाको अगुवाइमा प्रदेश नं. १ कै ऐतिहासिक धरोहरका रूपमा दुई करोड रुपैयाँको लागतमा निर्माणाधीन नाटक घरको निर्माण कार्य रोकिएको र काम पनि नभएको बेला समयको सदुपयोग गर्न कृषिकर्मीमा लागेको समूहका अध्यक्ष माधव कल्पितले बताउनुभयो ।

कोरोना भाइरसको सङ्क्रमणबाट बच्न सरकारले जारी गरेको लकडाउनका कारणबाट आर्थिक अभाव भएर निर्माण कार्य स्थगन हुन पुगेपछि नाटक घरका लागि आर्थिक स्रोत जुटाउन पनि सामूहिक खेती गरिएको र यसबाट आम्दानी पनि लिन थालिएको अध्यक्ष कल्पितको भनाइ छ ।

अहिलेको विषम अवस्थामा समुदायलाई मनोरञ्जन भन्दा पनि सिर्जनात्मक कर्मको आवश्यकता भएकाले झापाली कलाकारहरूले समाजमा सिर्जनात्मक उदाहरण प्रस्तुत गरेको भन्दै झापाका बौद्धिक वर्गले कलाकारको कृषि कर्मको प्रशंसा गरेका छन् ।

समूहले ड्रागनफ्रुट, एबोकाडो, किवीजस्ता स्वस्थबद्र्धक फलफूलका बिरुवासमेत बिक्री गर्दै आएको छ । झापा नाटक घर परिसरमा रहेको डेमोबाट हाल कृषक तथा सङ्घ–संस्थाहरुले ड्रागनफ्रुटको बिरुवा लैजाने गरेका छन् ।

लकडाउनलाई मानसिक त्रासको रूपमा नलिएर अवसरको रूपमा सदुपयोग गर्दै कृषि कर्म गरे आत्मनिर्भर बन्ने कुरा त छँदै छ शरीर स्वस्थ भएर कोरोना भाइरसजस्ता महामारीबाट बच्न समेत सहयोग पुग्ने अपेक्षा गर्न सकिन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button