ओखलढुङ्गामा हेल्थडेक्समा खटिएका स्वास्थ्यकर्मी र प्रहरीसहित पाँच जनामा कोरोना सङ्क्रमण पुष्टि

ओखलढुङ्गा । ओखलढुङ्गामा हेल्थडेक्समा कार्यरत स्वास्थ्यकर्मीसहित पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जिल्लाको मुख्य नाका टोक्सेल हर्कपुरमा राखिएको हेल्थडेक्समा कार्यरत एक स्वास्थ्यकर्मी र चार जना प्रहरीमा कोरोना पुष्टि भएको हो ।
बुधवार आएको रिपोर्टमा पाँच जनामा संक्रमण देखिएको जिल्ला स्वास्थ्य प्रमुख सुमन तिवारीले जानकारी दिनुभयो ।
जिल्लाबाट स्वाब परीक्षणका लागि पठाइएको एक सय आठ मध्ये पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको उहाँको भनाई छ ।
सङ्क्रमित मध्ये स्वास्थ्यकर्मी कोरोनाको कहर रोक्न स्थापना गरिएको हेल्थडेक्समा केही महिना यता कार्यरत हुनुहुन्थ्यो । सङ्क्रमित चार प्रहरी मध्ये एक जना विराटनगरबाट केही दिन अघि सुरुवा भएर आउनुभएको थियो । अन्य तीन जना मानेभञ्ज्याङ प्रहरी चौकीमा कार्यरत हुनुहुन्थ्यो ।
कोरोना संक्रमण रोक्न नाकामा खटिएका स्वास्थ्यकर्मी र प्रहरीमा कोरोना संक्रमण देखिएपछि मानेभञ्ज्याङ क्षेत्रमा त्रास फैलिएको छ ।
टोक्सेल हर्कपुर माथिल्लो सगरमाथा क्षेत्रमा प्रवेश गर्ने मुख्य नाका हो ।
सोलुखुम्बु, खोटाङ र ओखलढुङ्गा प्रवेश गर्ने मुख्य मार्गमा रहेको हेल्थडेक्समा त्यस क्षेत्रबाट आवतजावत गर्ने सबै सवारी रोकेर चेकजाँच र विवरण इन्ट्री गर्ने गरिएको थियो ।
जिल्लामा यसअघि बाहिरबाट सरुवा भएर आएका प्रहरीमा कोरोना देखिए पनि जिल्लामै कार्यरत सुरक्षाकर्मी र स्वास्थ्यकर्मीमा पहिलो पटक कोरोना देखिएको जिल्ला स्वास्थ्य कार्यालय ओखलढुङ्गाले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्