नियमित अन्तर्राष्ट्रिय उडान सुचारु
काठमाडौं । देशभर लागू गरिएको बन्दाबन्दीको पाँच महिनापछि मंगलबारदेखि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सुचारु भएको छ ।
सरकारले बन्दाबन्दीको पाँच महिनापछि भदौ १६ देखि निश्चित शर्तसहित नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने निर्णय गरेको थियो ।
सरकारले कोभिड–१९ महामारीबाट बचेर सुरक्षित उडानका लागि पिसीआर परीक्षण सहज भएका देशहरूबाट शर्तसहितको नियमित उडान गर्ने निर्णय गरेको हो । दैनिक ५०० यात्रु नकट्ने गरी उडान नियमित उडान सञ्चालन हुनेछ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक देवेन्द्र केसीले बन्दाबन्दी र त्यसपछि निषेधाज्ञाको अवधिमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हँुदै ५४ हजार ११५ यात्रु नेपाल आएका र नेपालबाट २२ हजार १९६ जना यात्रु बाहिरिएका जानकारी दिनु भयो । यस अवधिमा विभिन्न देशबाट १४ लाख ४१ हजार ५४० कार्गो नेपाल भित्रिएको छ भने नेपालबाट १८ लाख २७ हजार ८४४ कार्गो विदेश पठाइएको छ ।
नियमित उडानको तालिका अनुसार पिसीआर परीक्षण सहज भएका मुलुकहरू मलेसिया, युएई, दक्षिण कोरिया, थाइल्याण्ड, जापान, चीन, हङ्कङ, अष्ट्रेलिया, अमेरिका, क्यानाडा र युरोपेली मुलुकबाट नेपाल सरकारको निर्णयअनुसार नेपाल आउन अनुमति भएका नेपाली नागरिक र नेपालस्थित विदेशी नियोगका कूटनीतिज्ञ, कर्मचारी, संयुक्त राष्ट्रसङ्घका कर्मचारीलगायतलाई मात्र नेपाल ल्याउने गरी नियमति उडान गरिनेछ ।
पिसीआर सहज नभएका मुलुकहरूबाट नियमित उडानमार्फत् यात्रु ल्याउन पाइने छैन् ।
नियमित अन्तर्राष्ट्रिय उडान शुरु गर्ने पहिलो दिन नेपाल एयरलाइन्सले वाइड बडी जहाज मार्फत राति १ः०० बजे जापानको नारिताका लागि उडान भर्ने विमानस्थलले जनाएको छ । मंगलबार चार्टर्डतर्फ पाँच उडान रहेका छन् ।








प्रतिक्रिया राख्नुहोस्