बैतडीका पहिरोपीडित त्रिपालमुनी बस्न बाध्य
बैतडी । बैतडीको डिलाशैनी गाउँपालिका वडा नं ६ सौनगाउँका पहिरो पीडित त्रिपालमुनी बस्न बाध्य भएका छन् ।
यही भदौ २ गतेको बर्षासंगै खसे पहिरोले ८ परिवार बस्ने ३ ओटा घर भत्काएपछि पहिरो पीडितहरु नजिकैको विद्यालयको प्रांगणमा त्रिपाल हालेर बसीरहेका स्थानीय पहिरो पिडित शिबराम लोहारले जानकारी दिनुभयो । आफुहरुलाई गास,बास र कपासको समस्या भएको उहाँले बताउनुभयो ।
स्थानीय प्रेमराम लुहार, काशीराम लुहार, नारायण लुहार, बहादुर लुहार, शिवराम लुहार, धनीराम लुहार, बीरराम लुहार र पदमराम लुहारको परिवार पहिराले घर भत्काएपछि विस्थापित भएका हुन् ।
पीडित शिवरामले भन्नुभयो ‘हामी हरेक वर्ष पहिरोले बिस्थापित हदैँ आएका छौँ, यस वर्ष समेत गरेर नबौँ पटक बिस्थापित भएका हौँ, अब त हाम्रो एकटुक्रा जग्गापनि बाकिँ छैन्, हाम्रो नामा लालपुर्जा छ तर जग्गा सबै पहिरोका लगिसक्यो, अहिले सम्म नौँ पटक सम्म हामीले बनाएका घरहरु पहिरोले लग्यो, अब त घर बनाउन जग्गपनि छैन्, हाम्रो जस्तो पिडा कस्लाई होला र ? उहाँले भन्नुभयो, ।
आठ परिवार मध्ये २ परिवार नजिकैको मठैराज आधारभूत विद्यालयको कोठामा बसीरहेका छन् भने अन्य परिवार विद्यालयको प्रांगणमा त्रिपाल टाँगेर बसीरहेका छन् । पहिरोले घर भत्काएपछि घर बनाउने जमीन समेत बाँकी नरहेको स्थानीय प्रेमराम लुहारले जानकारी दिनुभयो । उहाँले भन्नुभयो ‘हामीलाई अहिले ओत लाग्ने ठाउँ छैन् । पहिरोले जमीन समेत सबै बगाईसकेको छ । हाम्रो व्यवस्था गरिदन सरकारसंग आग्रह गरिरहेका छौं ।’
अहिले आफूहरुलाई गाँस, बास र कपासको निकै समस्या भएको उहाँले बताउनुभयो । विस्थापित ८ ओटै परिवार जमीन समेत पहिरोले बगाईसकेकाले घर बनाउन समेत जमीन बाँकी नरहेको स्थानीय बहादुर लुहारले बताउनुभयो ।
पहिरोले विस्थापित भएपछि वडा कार्यालयबाट ४ त्रिपाल र साडा नामक गैरसरकारी संस्थाबाट ४ त्रिपाल बाहेक अन्य कुनै सहयोग प्राप्त नभएको स्थानीय काशीराम लुहारले बताउनुभयो । उहाँले भन्नुभयो ‘हामीहरुलाई दैनिक छाक टार्न मुश्किल भएको छ । कहिले सम्म विद्यालयमा बस्ने ? हाम्रो व्यवस्था गरिदिन सरकारसंग आग्रह गर्दछौं ।’
विस्थापित परिवारलाई खानेपानी, शौचालयको समेत समस्या भएको छ भने दैनिक छाक टार्न समेत मुश्कील भएको छ । त्रिपालमुनि रात काट्न निकै मुस्कील भएको स्थानीय प्रेमराम लुहारले बताउनुभयो ।
बालबालिकहरुलाई खुवाउन लागि समेत खाना नहुँदा समस्या भएको उहाँको भनाई छ । पहिरोका कारण डिलाशैनी ६ को सौनगाउँ पुरै जोखिममा रहेको बताइएको छ ।








प्रतिक्रिया राख्नुहोस्