तपाईँ सुन्दै हुनुहुन्छः

रुपन्देही । कोरोना महामारीका कारण भोकै परेका व्यक्तिलाई खाद्यान्न सहयोग गर्न बुटवल उपमहानगरका दुई स्थानमा खाद्यबैंक सञ्चालन भएको छ ।

लायन्स क्लब अफ बेलवास सिटीले बुटवलको बेलवासमा खाद्यबैंक सञ्चालन गरेको छ । “हुनेले दिएर जाउ नहुनेले लगेर जाउ” भन्ने नाराका साथ सञ्चालन गरिएको क्लबका अध्यक्ष लक्ष्मण कुमार खड्काले बताउनुभयो ।

खाद्यबैंकमा दैनिक उपभोग्य वस्तु अन्तर्गत चामल, दाल, नुन, तेल, पिठो, चिनी, नुनलगायतका सामग्री झोलामा प्याक गरी वितरण गर्न थालिएको छ । साँंझ विहान खान समस्यामा परेकाहरुले नाम र ठेगाना दर्ता गरी सजिलैसंग खाद्यान्न लैजान पाउने व्यवस्था गरिएको छ ।

सबैभन्दा धेरै विपन्न, सुकुम्बासी र मजदुरहरू बस्ने बुटवल–११ देवीनगरलाई लक्षित गरी ‘हामी सक्छौं’ अभियानले खाद्यबैंक सञ्चालनमा ल्याएको संयोजक शिव डुम्रेले बताउनुभयो ।

यस्तै कोरोना रोकथामका लागि प्रतिपरिवार सदस्य अनुसार एक–एकवटा मास्क् र स्यानिटाइजरसमेत उपलब्ध गराइएको छ । ‘स्थानीय प्रशासनले साँझ ४ देखि ६ बजेसम्मको समय दिएको छ । हामी सामाजिक दुरीसहित जम्मा हुने र माग भएका क्षेत्रमा बाँड्ने काम जारी राख्नेछौं,’ डुम्रेले बताउनुभयो । स्थानीय तहको समन्वयमा विपन्न धेरै भएको स्थान छनोट गरी ‘फुड बैंक’लाई घुम्ती सेवाका रूपमा सञ्चालन गरिने डुम्रेले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button