ढुंगा गिट्टी उत्खनन् गर्ने स्काभेटर सहित २ जना नियन्त्रणमा

बागलुङ । बडिगाड खोलामा अवैध रुपमा गिटि बालुवा उत्खनन गर्ने एक स्काभेटर सहित २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बडिगाड गाउँपालिका ७, भिमगिठे नजिकै कालिरहबाट गिटि बालुवा उत्खनन् गरिरहेको अबस्थामा हुण्डाई कम्पनीको २ सय २० सिसिको स्काभेटर सहित २ जना व्यक्तिलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रमुख प्रहरी निरिक्षक प्रकाश सिंह भण्डारीले जानकारी दिनुभयो ।
निसिखोला ७ का सुनिल कुँवर र रेशम पुनले केही महिना अघि देखि नै स्थानिय छलि विक र गया विकको करिव ३ रोपनी जग्गा भाडामा लिएर उत्खनन गरिरहेका थिए ।
उनीहरुले व्यक्तिको जग्गामा गिटीबालुवा उत्खनन गर्न वडा कार्यालयबाट अनुमति समेत लिएको बताएका छन् । यद्यपी वडा कार्यालयबाट दिइएको अनुमतिमा गाउँपालिकाको निति नियम र नेपालको कानुन बमोजिम यदि कुनै प्राविधिक तथा कानुनी जटिलता उत्पन्न भएमा सवै पक्ष वसी समन्वय गर्ने र गाउँपालिकाको निर्णय नै सर्वमान्य हुने लेखिएको छ ।
बडिगाड गाउँपालिकाले भने अहिलेको समयमा कसैलाइ पनि नदिजन्य पदार्थ उत्खनन् गर्न अनुमति नदिइएको जनाएको छ । वडाले दिएको सिफरिसमा आफुहरु अनविज्ञ रहेको प्रशासकिय अधिकृत थम्मन रेश्मीले बताउनु भयो ।
गाउँपालिका अध्यक्ष मेहरसिंह पाइजाले कानुनलेनै बर्जित गरेको विषय आफुहरुले अनमति दिने भन्ने विषय नै नभएको र अबैध कार्य जो कोहि भएपनि कानुनी दायरामा आउनुपर्ने बताउनु भएको छ ।
गण्डकी प्रदेश सरकारले ढुङ्गा, गिट्टि, बालुवा उत्खनन, संकलन, क्रसिङ र विक्रि वितरण तथा क्रसर स्थापना र सञ्चालनलाई व्यवस्थित गर्ने कार्यविधि २०७५ मा असार १ गते देखि भाद्र १५ भित्र कुनै पनि नदिजन्य पदार्थ उत्खनन् गर्न नपाइने कानुनि व्यवस्था गरेको छ।








प्रतिक्रिया राख्नुहोस्