तपाईँ सुन्दै हुनुहुन्छः

महाकाली चार लेन पुलको निमार्ण कार्य ५१ प्रतिशत सकियो

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ ओदाली स्थित महाकाली नदीमा निर्माण भइरहेको चार लेन महाकाली पुलको निर्माण कार्य ५१ प्रतिशत सकिएको छ । कोरोना भाइरसका कारण निर्माण कार्य प्रभावित बनेको पुलको निर्माण कार्य हाल आएर तीव्र गतिमा सुरु भएको छ ।

निर्माणको जिम्मा पाएको कुमार सीएसईसी जेभीले लकडाउन खुलेपछि निर्माण कार्यलाई तीव्र रूप दिएपछि निर्माण गर्नु पर्ने लक्षको ५१ प्रतिशत निमार्ण कार्य सकिएको जनाएको छ ।

कोरोना भाइरसका कारण लक्ष्य अनुसार भौतिक प्रगति समात्न नसकेको कम्पनीले हाल भने कामलाई जोड दिएको छ । पुलको स्ल्याव राख्ने ढलान हाल्ने, बाटो भरान लगायत ड्रेन बनाउने कामले पनि गति लिएको कम्पनीले जनाएको छ । कुमार सीएसईसी जेभी कम्पनीका इन्जिनियर किशोर राज पाण्डेयले निर्माण हुने बाटोमा भरान गर्ने कार्य पनि सकिएको, १५ किलोमिटर निर्माण गर्नु पर्ने ड्रेनको निर्माण कार्य पनि साढे ४ किलो मिटर जति सकिएको बताउनु भएको छ ।

महाकाली चार लेन निर्माणको सम्झौता ३ अर्व २७ करोड ९३ लाख ३४ हजारमा भएको थियो । सीमा नाका गड्डा चौकीसम्म जोड्ने ६ किलोमिटर र महाकाली नगरपालिकाको चाँदनीतर्फ डेढ किलोमिटर चार लेनको पहुँच मार्गको निमार्ण कार्य पनि सकिएको छ ।

यस्तै पुलको ३४ ओटा पिल्लर मध्य ३० ओटा पिल्लरको काम सकिएको छ । कम्पनीका अनुसार पुलको लम्बाई ८ सय मिटर र चौडाइ भने २३.८ मिटर रहेको छ । कम्पनीका इन्जिनियर किशोर राज पाण्डेले कोरोनाको महामारीले गर्दा घर गएका कामदारहरूलाई निर्माण कार्यमा प्रशासनसँगको सहकार्यमा सुरक्षाका उपाय अवलम्बन गरेर निर्माण कार्य चलिरहेको छ ।

यस्तै उता गड्डाचौकी र भुजेला खोलामा पर्ने २ ओटा साना पुलको निर्माण कार्य सकिएको कम्पनीले जनाएको छ । सम्झौता अनुसार पुल निर्माण कार्य २०७८ जेठमा सकिने छ । इन्जिनियर पाण्डेयका अनुसार सम्झौतामा चार लेनको महाकाली पुल निर्माण कार्य २०७४ भदौमा सुरु भएर २०७७ भदौमा सम्पन्न हुने भनिए पनि केही प्राविधिक कारण एक वर्ष बिचमा थप गरिएको थियो । थप गरिएपछि २०७७ भदौबाट एक वर्ष थप गरेर २०७८ जेठ १९ गते सम्म समय तोकिएको निर्माण कम्पनीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button