अस्पताल स्थापनाको ५७ वर्षपछि पहिलो पटक आइसियु सेवा सञ्चालन

कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगर स्थित महाकाली अस्पतालमा सोमबारबाट आइसियु सेवा सञ्चालन गरिएको छ । अस्पताल स्थापनाको ५७ वर्षपछि पहिलो पटक आइसियु सेवा सञ्चालन सँगै थाइराइडको चेक जाँचका लागि नयाँ मेसिन, शव वाहन र आधुनिक एम्बुलेन्स समेत थप गरिएको महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशी (बोक्सर) ले जानकारी दिनुभयो ।

आइसियु सेवा, थाइराइड मेसिन र आधुनिक एम्बुलेन्सको सोमबार उद्घाटन गर्दै प्रतिनिधि सभा अन्तर्गतको महिला तथा सामाजिक समितिका सभापति निरुदेवी पालले अस्पतालको थप सुधारका लागि पहल गरिने बताउनुभयो । उहाँले निम्न स्तरमा नागरिकहरूलाई समेत सहजै स्वास्थ्य सेवा दिन अस्पताल केन्द्रित हुनुपर्नेमा जोड दिनुभएको छ । यसअघि उहाँले महाकाली अस्पताललाई स्वास्थ्य सामग्री समेत हस्तान्तरण गर्नुभएको थियो ।
त्यस्तै, भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले आइसियु सेवा सञ्चालन सँगै यस क्षेत्रका बिरामीहरूले समयमै उपचार पाउने विश्वास व्यक्त गर्नुभएको छ । लामो समयदेखि सञ्चालनमा रहेको महाकाली अस्पतालमा विशेषज्ञ डाक्टर र आवश्यक औषधी उपकरण समेत नहुँदा यसअघि यहाँका नागरिकहरुले उपचारका लागि भारतीय अस्पताल अथवा जिल्ला बाहिर जानुपर्ने बाध्यता थियो ।










प्रतिक्रिया राख्नुहोस्