तपाईँ सुन्दै हुनुहुन्छः

मेलम्ची खानेपानी आयोजनाका समस्या समाधानका लागि भर्चुअल बैठक

सिन्धुपाल्चोक । मेलम्ची खानेपानी आयोजनाका सबै समस्या समाधान गर्न र मेलम्ची खोलाको पानी काठमाडौँ पथान्तरण पश्चात् लेभी निर्धारण र अन्य बिबिध समस्याहरु समाधानका निमित्त सरोकारका बिषयहरु समेट्दै आइतबार साँझ सांसद शेरबहादुर तामाङको संयोजनमा भर्चुअल बैठक सम्पन्न भएको छ ।

पुर्व कानुन मन्त्री तथा सिन्धुपाल्चोकका प्रतिनिधिसभा सांसद शेर बहादुर तामाङको संयोजकत्वमा मेलम्ची खानेपानी लेभी निर्धारण संयोजन तथा वार्ता समिति गठन गर्दै उक्त बैठक सम्पन्न भएको हो ।

सिन्धुपाल्चोक जिल्लाको मेलम्ची खानेपानी आयोजनाको पहिलो र दोश्रो चरणको आयोजनामार्फत पानी काठमाडाँै पथान्तरण पश्चात् स्थानीय जनतालाई लेभि दिनुपर्ने र त्यसका निम्ति सबै एकमत रहनु पर्ने र उक्त क्षेत्रमा बिकासका निम्ति राज्यले अनुदान दिनुपर्ने, आयोजनाले सामाजिक उत्तरदायित्व बहन गर्नुपर्ने र नाफाको बाँडफाँड हैन निश्चित लेभी दीर्घकालीन रुपमा दिनुपर्ने लगायत एजेन्डामा सबै सहभागीहरुको साझा धारणा रहेको सांसद तमाङले जानकारी दिनुभयो ।

उहाँले स्थानीय नागरिकको माग अनिवार्य रुपमा राज्यले पूरा गर्नुपर्ने धारणा समेत राख्नु भएको छ ।

उक्त बैठकमा बाग्मती प्रदेशका सामाजिक बिकास मन्त्री युबराज दुलालले मेलम्ची सबैको साझा बिषय रहेकाले सामुहिक रुपमा अगाडि बढ्दा समस्या समाधाका निम्ति बातावरण सहज हुने बताउनुभयो ।

छलफलमा उपस्थित सबैले एकताबद्ध रुपमा अगाडि बढ्दा मात्र उपलब्धि हासिल हुने भन्दै स्थानीयका मागका सवालमा जस्तोसुकै चुनौती सामना गर्नुपरेपनि तयार रहनुपर्नेमा सम्पुर्ण सहभागीहरुले जोड दिनुभएको थियो ।

सांसदकै नेतृत्वमा योजनाबद्ध रुपमा अगाडि बढ्दा उपलब्धि हासिल हुने कुरामा छलफलमा सहभागि सरोकारवालाहरु एकमत रहेको कुरा बैठकको बिषयबस्तुहरु लिपीबद्ध गर्नु भएका सरोकारवाला निर्मल बन्जाराले बताउनुभयो ।

सो समिति सदस्यहरुमा बाग्मती प्रदेश सामाजिक बिकास मन्त्री युबराज दुलाल, पुर्ब राज्यमन्त्री एबम संविधान सभा सदस्य लारक्याल लामा, संविधानसभा सदस्यहरु दावा तमाङ, डोल्मा तामाङ, चलन बहादुर तामाङ बाग्मती प्रदेश सांसद द्वय निमा लामा र इन्द्रमाया गुरुङ, जिल्ला समन्वय समिती प्रमुख कृष्णगोपाल तामाङ, मेलम्ची नगरपालिका प्रमुख डम्बर अर्याल, चौतारा सागाचोकगढी नगरपालिका प्रमुख अमानसिंह तामाङ, हेलम्बु गाउँपालिका प्रमुख निमाग्याल्जेन शेर्पा, पाँचपोखरी थाङ्पाल गाउँपालिका प्रमुख टासी लामा ह्योल्मो, इन्द्रावती गाउँपालिका प्रमुख बंशलाल तामाङ, बुद्धिजिबी हस्त पण्डित, जिमि लामा, उदय सापकोटा, कानुनबिद बालकृष्ण देउजा, सरोकार समिती ह्योल्मो सिन्धु मेलम्ची सामाजिक उत्थान कार्यक्रमका अध्यक्ष उपेन्द्र तामाङ, इन्द्रावती मेलम्ची उपत्यका सामाजिक उत्थान कार्यक्रम सञ्चालक समिती अध्यक्ष बिष्णुमणी आचार्य, ह्योल्मो खानेपानी सरोकार समितिका अध्यक्ष भालु शेर्पा, राजनीतिक दलको तर्फबाट नेकपा क्षेत्रीय कमिटी अध्यक्ष मित्रलाल चौलागाईं, नेपाली काङ्ग्रेस क्षेत्रीय सभापति आईतमान तामाङ, राप्रपा क्षेत्रीय अध्यक्ष फणीन्द्र दाहाल रहेका छन ।

सबै उपस्थितले खानेपानी आयोजनाका सन्दर्भमा आ–आफ्नो धारणा व्यक्त गरेका थिए । बैठकले यस्ता प्रयासले प्रभावित क्षेत्रमा लाभ हुने साझा निष्कर्ष समेत निकालेको छ ।

बैठकमा स्थानीय तह र सामाजिक उत्थान कार्यक्रम अन्तर्गतका समितिहरु बिच साझा धारणा बनाएर अगाडि बढ्नु पर्ने निस्कर्षमा सबै सहभागी सरोकारवालाहरु पुगेको बैठक संयोजनकर्ता पुर्बमन्त्री तामाङले बताउनु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button