तपाईँ सुन्दै हुनुहुन्छः

योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयमा ७५ बेडको आइसोलेसन सञ्चालनमा (फोटो फिचरसहित)

चितवन । भरतपुरमा कोभिड–१९ आइसोलेसन केन्द्र सञ्चालनमा आएको छ । भरतपुर महानगरपालिका–१ बागेश्वरीस्थित योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयमा ७५ बेडको आइसोलेसन आजदेखि सञ्चालनमा आएको हो ।

आज एक कार्यक्रमका बिच भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहालले आइसोलेसनको शुभारम्भ गर्नुभयो ।

सो अवसरमा बोल्दै उहाँले कोरोना संक्रमण देखिएका पहिलो चरणका बिरामीलाई योग तथा प्राकृतिक चिकित्सा पद्धतिबाट उपचार गरिने बताउनुभयो । उहाँले भन्नुभयो, “भरतपुर महानगरपालिका भित्रका सङ्क्रमितहरूलाई पहिलो प्राथमिकतामा राखिनेछ र यसलाई आवश्यकताका आधारमा विस्तार गर्दै लगिनेछ ।” दाहालले शान्त, रमणीय ठाउँमा आइसोलेसन भएकाले सङ्क्रमितको बसाइ समय आनन्दमय एवं छिटो अवधिमा निको हुन सहयोगी हुने अपेक्षा गरेको बताउनुभयो ।

उहाँले चितवनमा कोरोनाको संक्रमण बढ्दै गएकाले सङ्क्रमितको व्यवस्थापनका लागि सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्ने बताउनुभयो । उहाँले आइसोलेसन स्थापनाका लागि सहयोग गर्ने सम्पूर्णलाई धन्यबाद ज्ञापन गर्नुभयो ।

उहाँले महानगरपालिकामा कोभिड–१९ का सङ्क्रमितको सङ्ख्या बढ्दै जाँदा परीक्षणको दायरा बढाउन अटोमेसन ल्याब सञ्चालनका लागि प्रदेश र केन्द्र सरकारसँग आग्रह गरिएको बताउनुभयो ।

चितवनमा दिनप्रतिदिन कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै जाँदा उपचारका लागि स्थानको अभाव छ ।
भरतपुर महानगरपालिकाले प्राकृतिक चिकित्सालयसँग सहकार्य गरेर आइसोलेसन सञ्चालन गरेको हो ।

यहाँको मर्मत सम्भार, खाना खर्च सबै महानगरले व्यहोर्ने छ । आन्तरिक व्यवस्थापनसँगै योग, ध्यान, आवश्यक उपचार चिकित्सालयले गर्नेछ । अन्य प्राविधिक पक्षमा भरतपुर अस्पतालले सहयोग गर्नेछ । चिकित्सालयमा कोरोना सङ्क्रमितका लागि छुट्टै ब्लक स्थापना गरिएको छ ।

सो ठाउँमा रहेका पाँच घरमा रहेका कोठाहरूलाई व्यवस्थित गरी आइसोलेसन बनाइएको छ । एउटा घरमा शौचालयसहितका पाँच कोठा रहेका छन् । सबै कोठामा एटेज बाथरुम र वाइफाइको व्यवस्था छ ।

चिकित्सालयका प्रमुख डा. हेमराज कोइरालाले कोरोना संक्रमण भएका तर लक्षण नदेखिएकाहरू प्राकृतिक विधिबाट उपचार गरिने बताउनुभयो । उहाँका अनुसार प्राकृतिक खानपान र नियमित व्यायाम गराइने छ ।

सामान्य लक्षण देखिएका पहिलो तहका बिरामीलाई सो आइसोलेसनमा राखिन्छ । बिरामीलाई बिहान चार किसिमका फलफूलबाट दिनको शुरुवआत गरी साँझ दूध र बेसारसँगै खानाको अध्याय सकिने उहाँले जानकारी दिनुभयो ।

फापरको रोटी, उमारेको गेडागुडीका टुसा, अत्याधिक झोलिलो खाना, जेठी मधु, गुर्जो, मरीच, सुठो, पिप्ला, तुलसीको पानी, दाल, भात, तरकारी जस्ता पौष्टिक तत्त्व प्रशस्त हुने खाना खुवाइन्छ ।

आइसोलेसनमा बस्नेहरूलाई योग, ध्यान प्रशस्त गराइने छ भने मनोरञ्जनको पनि विशेष ख्याल गरिनेछ । आइसोलेसन दिगदारी नबनोस् भनेर पारिवारिक वातावरण निर्माण गरिनेछ । डर, चिन्ता र उदासीनसँगै तनाव व्यवस्थापनको काम पनि गरिने उहाँले बताउनुभयो ।

मनतातो पानी नाकको एउटा प्वालबाट तानेर अर्कोबाट फाल्ने जल नीति, मनतातो पानीले कुल्ला, पानी खाएर उल्टी गर्ने जस्ता विधि प्रयोग गरिने कोइरालाले जानकारी दिनुभयो ।


यसले गर्दा भाइरससँग लड्ने रोग प्रतिरोधात्मक क्षमता बढ्छ । आइसोलेसनमा १५ जना स्वास्थ्यकर्मी खटिनेछन् ।

प्रदेशसभा सांसद विजय सुवेदीले आइसोलेसन व्यवस्थापनका लागि प्रदेश सरकारले पनि सहयोग गर्ने बताउनुभयो । उहाँले आजै मुख्यमन्त्रीसँग जिल्लाको कोभिडको अवस्था र अन्य व्यवस्थापकीय पक्षमा प्रदेश सरकारले गर्ने कामका विषयमा छलफल हुने बताउनुभयो । जिल्लामा यस्ता आइसोलेसन केन्द्र अरू अरुपनि आवश्यक पर्न सक्ने भएकाले त्यसका लागि पनि पहल सुरु गरिएको जानकारी दिनुभयो ।

पूर्वी चितवनका चार नगरपालिकाले रत्न नगरमा र माडीले वडा नम्बर ५ मा आइसोलेसन बनाइसकेको छ । दोस्रो र तेस्रो तहका सङ्क्रमितलाई भने भरतपुर अस्पताल र दुई मेडिकल कलेजमा उपचार गरिने व्यवस्था मिलाइएको छ ।

चितवनमा आजसम्म सङ्क्रमितको सङ्ख्या ६ सय २६ पुगेको छ । सबैभन्दा धेरै भरतपुर महानगरपालिकामा सङ्क्रमित भएका छन् भने इच्छा कामनामा सबैभन्दा कम छन् ।

भरतपुर महानगरपालिकामा ३६८, खैरहनी नगरपालिकामा ४३, माडी नगरपालिकामा ५०, रत्न नगरमा नगरपालिकामा ८१, राप्ती नगरपालिकामा ७६, कालिका नगरपालिकामा ५ र इच्छा कामना गाउँपालिकामा ३ जना सङ्क्रमित रहेका छन् ।

सो अवसरमा सङ्घीय सांसद कृष्णभक्त पोखरेल, प्रदेश सांसद विजय सुवेदी, घनश्याम दाहाल, प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराई, भरतपुर महानगरपालिकाकी उपप्रमुख पार्वती शाह ठकुरी, भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा.भोजराज अधिकारी, चिकित्सालयका अध्यक्ष कमल मल्ल,विभिन्न वडाका वडाध्यक्षहरू लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button