कर्णालीको नाग्म बजारमा पहिरो

जुम्ला । कर्णाली राजमार्ग अन्तर्गत नाग्म बजारमा पहिरो जाँदा चार घर पुरिएका छन् । आइतबार अचानक आएको सुख्खा पहिरोले चारवटा घर एकैसाथ पुरेको हो ।
जुम्ला र कालिकोटको सिमानामा पर्ने कालिकोटको तिलागुफा नगरपालिका वडा नं १ को नाग्म बजारमा पहिरो खसेको हो । पहिरोमा १२ देखि १४ जना पुरिएको हुन सक्ने घाइते तिलागुफा नगरपालिका १ का वर्ष १३ का अर्जुन हमालले बताउनु भयो ।
घाइते हमालका अनुसार आफन्त पर्ने ललित नेपालीको घरमा केही मानिसहरु पुरिएका छन् । पहिरोमा ललित नेपाली लगायतका मानिसहरु पुरिएको हुन सक्ने उहाँको भनाईछ ।
उहाँलाई पहिरोबाट निकालेर उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको जुम्लाका डिएसपी लाल बहादुर धामीले बताउनु भयो ।
डिएसपी धामीले भने,“घाइतेको भनाइलाई आधार मान्ने हो भने पहिरो भित्र पुरिएका मानिसहरू हुन सक्छन् । जुम्लाबाट प्रहरीको टोली पठाइसकेका छौ । जेसिवि लगाएर पहिरो पन्छाउने काम भइरहेको छ ।” क्षतिको यकिन विवरण आईनसकेकाले गर्दा यही नै हो भन्न नसकिने उहाँको भनाई छ ।
पहिरोमा घम्भिर घाइते पूर्णकला साहीलाई अहिले उद्दार गरी अस्पताल पुर्याइएको छ ।फोनसम्पर्क नहुनेभएकाले घटना बारे एकिन जानकारी पत्ता लाग्न सकिरहेको छैन ।
कोरोना भाईरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जारी लकडाउन र बिहानको समय भएकाले घरभित्र कम्तीमा पनि दश जना मानिस पुरिएको हुनसक्ने स्थानीयको भनाई छ ।
सो क्षेत्रमा सञ्चारको कुनै पनि सेवा र सुविधाको पहुँच नभएका कारण जिल्ला प्रशासन कार्यालय कालिकोट र नजिकै पर्ने जुम्लामा समेत खबर नहुँदा घरभित्र पुरिएका मानिसलाई उद्धार गर्न ढिलाइ भएको स्थानीयको गुनासो छ ।
कर्णाली राजमार्गकै किनारका घरहरूमाथि पहिरो खसेकाले अहिले राजमार्ग पूर्ण रूपमा बन्द भएको छ ।
भत्केका घरभित्रबाट आवाज आइरहेको सुनिएकाले सरकारी निकायबाट तत्काल उद्धार टोली पुग्न सके केही व्यक्तिलाई जीवितै उद्धार गर्न सकिने सम्भावना रहेको स्थानीय मुनि बुढाले बताएका छन् ।
भिरालो जमिनमा रहेको बस्तीका घरहरूको सिरानमा जथाभाबी पानी छोडेकाले पहिरो गएको स्थानीयले बताएका छन् ।








प्रतिक्रिया राख्नुहोस्