तपाईँ सुन्दै हुनुहुन्छः

प्रहरीको बुथ बुथमा युवाको ‘गुर्जो कोसेली’

काभ्रेपलान्चोक । लकडाउनको समयमा धेरै जसो मानिसहरूलाई फुर्सदै फुर्सद छ । बनेपा नगरपालिका वडा नं. १० का मुक्ति विष्टलाई भने यत्तिखेर भ्याई नभ्याई छ ।

बिहान सबेरै उठ्यो, गुर्जो कता पाइन्छ खोज खबर गर्‍यो र गुर्जो पाइने जङ्गलका बुट्टा बुटामा दौडिनु अचेल उहाँको दैनिकी जस्तै हो ।

जङ्गलमा पुगेसँगै ठुलठुला रुखका बोटमा बेरिएको गुर्जो झार्नु, सङ्कलन गर्नु  र त्यसलाई स–सना टुक्रा पारी सङ्कलित गुर्जोलाई निःशुल्क बाँड्दै हिँड्नु विष्टको अहिलेको नियमित कामलाई हो ।

कोरोना महामारीमा मानिसहरू आ–आफ्नै स्वास्थ्यको चिन्ता छ । विष्टलाई भने यत्तिखेर स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको चिन्ता धेरै  छ । ‘हामी नागरिकलाई बँचाउन त उहाँहरू लागिरहनु भएकै छ, हाम्रो पनि त उहाँहरूप्रति केही कर्तव्य हुन्छ’ विष्टले भन्नुभयो ।त्यही भएर आफू सङ्कलित गुर्जोलाई बाइकमा राखेर दैनिक जसो प्रहरी, सेना र स्वास्थ्यकर्मीहरूको कर्मथलोमा पुग्ने गरेको विष्ट बताउनुहुन्छ ।

कोरोना महामारीमा विश्व नै लडिरहेको छ । जनस्वास्थ्यका लागि अग्रपक्तीमा खटिने स्वास्थ्यकर्मी र सुरक्षाकर्मी सबैभन्दा बढि जोखिममा छन् । त्यही भएर आफू उहाँहरूको स्वास्थ्यका लागि केही गर्न सकिन्छ कि भनेर अभियानमा लागेको विष्टले बताउनुभयो ।
‘गुर्जोले मानिसको स्वास्थ्यमा फाइदा गर्ने र मानिसको रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने भएकाले जनस्वास्थ्यमा खट्नेहरूका लागि आफूले निस्वार्थभावले यो काम गरिरहेको’ विष्टले बताउनुभयो । ‘हाम्रा घर आँगनमै धेरै थरी औषधी मूलक वोटविरुवाहरु छन्, यो प्रयोग गर्न सके महामारीको समयमा बच्न सकिने’ विष्टको भनाई छ ।

औषधी गुणले भरिपूर्ण गुर्जो कोरोनासँग लड्नका लागि महत्त्वपूर्ण हुने भन्दै आफूले स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र कोरोना रोगीहरूलाई गुर्जो बाँडिरहेको उहाँको भनाई छ ।

आफ्नो अभियानबाट प्रभावित भएर अहिले अन्य युवाहरूले पनि आफूलाई सघाई रहेको विष्टको भनाई छ ।

शनिवार मात्र पनि विष्टको समूहले भक्तपुर स्थित जगाती प्रहरी पोष्टका प्रहरी नायक निरीक्षक किशोर ध्वोज कार्की मार्फत प्रहरीलाई गुर्जो वितरण गर्‍यो । शनिवार नै प्रहरी चौकी साँगाका इन्चार्ज हरिशरण बस्नेतलाई पनि विष्ट लगायतको समूहले गुर्जो हस्तान्तरण गर्‍यो ।  नेपाल प्रहरी महाविद्यालयका डिएसपी श्रीराम भण्डारी र भक्तपुर दुवाकोट प्रहरी पोष्टका इन्चार्ज ऋषिराम पौड्याललाई पनि गुर्जो कोसेली बोकेर शनिवार नै विष्टको समूह पुगेको थियो ।

यसअघि विष्टले जिल्ला प्रशासन कार्यालय काभ्रे, जिल्ला प्रहरी कार्यालय काभ्रे,जिल्ला ट्राफिक प्रहरी कार्यालय,बाग्मती प्रहरी प्रदेश कार्यालय लगायतका ठाउँमा गुर्जो पुराईसक्नु भएको छ ।
जिल्ला स्थित कोरोना आइसुलेनहरुमा समेत विष्टले गुर्जो वितरण गरिरहनुभएको छ ।
सुरुमा एक्लै सुरु गरेको अभियान बिस्तारै साझा हुँदै गएको विष्ट बताउनुहुन्छ ।

सुरुमा त एक्लै सुरु गरेको थिए अहिले आफूलाई सघाउने धेरै भएको विष्टको भनाई छ ।
आफूलाई अहिले बनेपाका स्थानीय राम दुवाल, रवीन्द्र देउजा, अविश विष्ट, नालका सन्तोष घिमिरे, मिठाराम घिमिरे, बेथानचोकका प्रेम लामा,राजेश लामा,वेद प्रसाद तिमिल्सिना,तुलसी बहादुर थापा लगायतले सहयोग गरिरहेको विष्टले बताउनुभयो । ‘सुरुमा के काम गरेको ? भनेर पनि भने’ विष्टले बताउनुभयो ।‘अहिले काम त ठिकै रहेछ भनेर धेरैले बधाई दिने गरेको’ उहाँ सुनाउनुहुन्छ । ‘अहिले मलाई बधाई दिने त कतिछन् कति, गाउँ गाउँबाट गुर्जो सङ्कलन गरेर लिन आउन खबर आउन थालिसक्यो’उहाँले बताउनुभयो ।

हामीहरू गुर्जो वितरण मात्र गरिरहेका छैनौ गुर्जोको फाइदा र यसको खेती बारे पनि सिकाउँदै हिँडेका छौ विष्टले बताउनुभयो ।  विष्टको कामले सुरक्षाकर्मी पनि खुसी छन् । नागरिकहरूबाट आफूहरूको पनि चिन्ता गरेको देख्दा औधी खुसी लाग्ने गरेको प्रहरीहरू बताउँछन् । आम नागरिकहरूले लकडाउनको पालना गर्ने र सक्ने समाजसेवीहरूले यस्तै अभियान चलाउने हो भने आफूहरूको पनि हौसल्ला बढ्ने उहाँहरूको भनाई छ । सञ्चारमाध्यम र इन्टरनेटमार्फत गुर्जोको फाइदा सुनेपनि आफूहरूले उपभोग गर्न नपाइरहेको समयमा गुर्जो पाउँदा आफूहरूलाई खुसी लागेको सुरक्षाकर्मीहरू बताउँछन् ।

के हो त गुर्जो ?
यो एउटा लहरेदार पतझर बिरुवा हो। यसको लहरा मोटो र गुदीदार हुन्छ। यसका आँख्लाहरूबाट जरा निस्केर हावामा लहरिएका हुन्छन् । यसको बोक्रा कागज जस्तो पातलो हुन्छ र बोक्रामा सेता ग्रन्थीका थोप्ला थोप्लाले भरिएको हुन्छ।

यसका पातहरू एकपछि अर्को हुँदै गएका हुन्छन् र भेट्नुदार हुन्छन्। पातहरू मुटु आकारका ७—८वटा नशाहरू भएका करिब १० से।मी लामा हुन्छन्। यसका फलहरू आँख्लाबाट लामो लहरेदार भागमा फल्दछन्। भाले फूलहरू झुप्पामा रहन्छन् भने पोथी फुलहरू एक्लाएक्लै रहेका हुन्छन्। फलहरू गुदीदार हुन्छन्, आकारमा अण्डाकारका र केराउका दाना जत्रा हुन्छन् र पाकेपछि राता हुन्छन्।

यसको उपयोगी भाग लहरा (डाँठ) हो। यसको डाँठ कमलपित्त, दम, खोकी, मधुमेह, पुरानो ज्वरो, डेङ्गी, तथा बाथ आदि रोगहरूमा उपयोग गरिन्छ। यस्ले रोगप्रतिरोधी क्षमता बढाउने विश्वास गरिन्छ ।

कोरोनाको बिरुद्धमा गुर्जो उपयोगी हुने देखिन थालेपछी  केही समय यता गुर्जोको माग पनि धेरै हुन थालेको छ ।  व्यापारीले ५०० प्रती किलोसम्म यसलाई बेच्न थालेका छन । यसको सेवन गर्न गुर्जोको केही सानो सानो टुक्रा पानीमा हालेर , विहान, वेलुका त्यो पानी खान सकिन्छ ।

आयुर्वेदका जानाकारहरु सुत्केरीले बाहेक सबैले गुर्जो प्रयोग गर्न सक्न्ने बताउँछन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button