तपाईँ सुन्दै हुनुहुन्छः

लकडाउनमा पनि बगैँचामै व्यापारी, बजारमा पुग्यो जुम्ली स्याउ

जुम्ला । जुम्लामा यति बेला स्याउ टिप्ने, निर्यात गर्ने चटारो चलेको छ । जुम्लाका सबै स्याउ किसान यति बेला स्याउ टिपेर कोभन्दा को छिटो निर्यात गर्ने भन्ने प्रतिष्प्रर्धामा छन् । कतिपयले काठमाडौं, नेपालगन्ज र सुर्खेतलगायतका सहरमा स्याउ पुराइसकेका छन् ।

हुन त जुम्लाको स्याउ निर्यातमा कुनै पनि वर्ष झन्झट भएको छैन । तर यस वर्ष लकडाउनले गर्दा स्याउ बिक्रीमा समस्या हुने, व्यापारी खोज्दै कता जाने होला ?, स्याउ बिक्री नै हुँदैन की भन्ने चिन्तामा रहेका किसानलाई व्यापारीले राहत पुराइदिएका छन् । कोरोना कहरका बिच पनि किसानका बगैँचामै पुगेर व्यापारीले स्याउ खरिद गरेपछि सर्वसाधारण किसानलाई राहत पुगेको हो ।

गुठिचौर गाउँपालिका व्यापारी, भुवन अधिकारीले त्यस क्षेत्रका किसानका करिब एक डेढ सय क्विन्टलभन्दा बढी स्याउ लागि सुर्खेत नेपालगन्ज पुराइसकेका छन् ।

सडकको पहुँचभन्दा टाढा रहेका गुठिचौरका किसानले बगैँचामै व्यापारी आएर स्याउ लिएपछि ठुलो राहत भएको बताएका छन् ।

तातोपानीका व्यापारी धनबहादुर खत्रीले त्यस क्षेत्रका किसानको दुई /ढाई सय स्याउ खरिद गरेर बिक्रीका लागि लिइसकेका छन् । कोरोना संक्रमण फैलिने डरले सबै ठाउँमा लकडाउन छ ।

सामान्य किसानको थोरै स्याउ भए पनि बजारमा पुगेन भने घाटामा पर्न सक्छन् भन्ने सोचले बगैँचामै पुगेर स्याउ खरिद गरिएको व्यापारी भुवन अधिकारीले बताउनुभयो ।

अर्का व्यापारी दल खड्का भन्छन्,“विगतका वर्षमा त बगैँचामै पुगेर स्याउ खरिद गरिन्थ्यो, यस वर्ष झन् कोरोनाले गर्दा किसानलाई बजारसम्म स्याउ पुर्‍याउन समस्या हुन्छ । आफूले पनि किसानसँग सम्पर्क गरिसकेको र बगैँचामै पुगेर स्याउ खरिद गर्ने तयारी छ ।”

जुम्लाका तिला, तातोपानी र गुठिचौर गाउँपालिका तथा चन्दननाथ नगरपालिकाका दजैनौँ व्यापारीले कोरोना कहरलाई मध्यनजर गरी किसानको राहतका लागि बगैँचामै पुगेर स्याउ खरिद गरेर बजारमा पुराइसकेका छन् ।

जुम्लाको अर्ग्यानिक स्याउ काठमाडाँै नेपालगन्जका बजारमा पुगेपछि भारतीय स्याउलाई विस्थापित समेत गरेको छ ।

यस वर्ष जुम्लामा ५० प्रतिशतले स्याउ उत्पादन घट्ने समेत अनुमान गरिएको छ । भदौ दोस्रो तेस्रो हप्ताबाट मात्रै स्याउ टिप्दा उपयुक्त हुने कृषि विज्ञहरूले भने पनि मूल्य राम्रो पाइने भन्दै धमाधम स्याउ टिपेर निर्यात भइसकेको छ ।

जुम्लामा प्रतिकेजी ४० देखि ५० सम्म खरिद गरेर लिइएकोमा नेपालगन्ज सुर्खेतमा प्रतिकेजी एक सय भन्दा माथि मूल्यमा बिक्री भइरहेको छ ।

स्याउ निर्यातका लागि १२ हजार कार्टुन खरिद
जुम्लाको अर्ग्यानिक स्याउ निर्यातका लागि यस वर्ष १२ हजार कार्टुन खरिद गरिएको छ ।

विगतका वर्षमा विदेशी कार्टुनमा जुम्ली स्याउ निर्यात हुने गर्दथ्यो । जसले गर्दा विदेशी स्याउ होस् अथवा नेपालका जुनसुकै जिल्लाको भए पनि जुम्लाको नाम बेचेर स्याउ बिक्री गर्थे । त्यसले गर्दा जुम्लाको स्याउ बजारीकरणमा ठुलो चुनौती आउँथ्यो ।

तर सरोकारवालको दबाब कारण एक÷दुई वर्ष पहिलेदेखि जुम्ली अर्ग्यानिक स्याउ लेखिएको कार्टुन भित्राएपछि बल्ल बजारीकरणमा सहज भएको व्यापारी धनबहादुर खत्री बताउँछन् । व्यापारीहरू विगतका वर्षमा चाइना एप्पल लेखेको कार्टुनमा जुम्लाको स्याउ लिँदा घाटै घाटा भएको अनुभव समेत सुनाउँछन् ।

यस वर्ष जुम्लामा स्याउ निर्यातका लागि १२ हजार कार्टुन खरिद गरिएको स्याउ सुपर जोन जुम्लाले जनाएको छ ।

स्याउ सुपर जोनको १० लाख अनुदानमा किसान राज बहादुर भक्रीले कार्टुन खरिद गरी ल्याएका हुन् । किसान भक्रीले भने,“लकडाउनका बाबजुद पनि १२ हजार कार्टुन खरिद गरी ल्याएको छु ।

एक त काँचो स्याउ बजारमा गइसकेको छ । कार्टुन भएन भने दोहोरो हिसाबले जुम्ली स्याउको पहिचान गुम्ने खतरा देखियो । त्यसैले पनि जुम्ली अर्ग्यानिक स्याउ लेखेको कार्टुन १२ हजार जुम्लामा पुराइएको छ ।”

कार्टुन खरिदका लागि सुपरजोनले गरेको आवेदनमा चन्दननाथ नगरपालिका–१ का राजबहादुर भक्री छनौट भएका थिए ।

भक्रीका अनुसार व्यापारीले नौ हजार कार्टुन खरिद गरिसकेका छन् । यहाँका अधिकांश किसान नै व्यापारी हुने भएकाले मागका आधारमा नौ हजार कार्टुन बिक्री भइसकेको भकारीले उल्लेख गर्नुभयो ।

कार्टुन खरिदका लागि ५० प्रतिशत व्यापारी किसानले व्यवहोर्नु पर्ने र ५० प्रतिशत स्याउ सुपर जोनले अनुदान दिने व्यवस्था छ । प्रति कार्टुन एक सय १० रुपैयाँ बिक्री भइरहेको छ ।

किसानले प्रति कार्टुनका ५५ रुपैयाँ दिने र सुपर जोनको ५५ रुपैयाँ गरेर एक सय १० मा एक कार्टुन विक्री भइरहेको छ ।

व्यापारी एकराज अधिकारी, राज अधिकारी, कृष्ण सार्की, धनबहादुर खत्री, भुवन अधिकारी, देउराम नेपाली, तारा पाण्डेलगायतका व्यापारी १२ सयदेखि १५ सय सम्म कार्टुन खरिद गरी लिएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button