तपाईँ सुन्दै हुनुहुन्छः

धुलिखेलमा भेटियो प्राचीन मुर्ती

काभ्रेपलान्चोक । काभ्रेपलान्चोक जिल्लाको धुलिखेल नगरपालिकामा प्राचीन मुर्ती फेला परेको छ ।
स्थानीयहरूले काभ्रेको पनौती नगरपालिका स्थित रोशीबाट बाटो निर्माणका लागि ढुंगा ल्याउनेक्रममा ढुंगासँगै मुर्ती फेला पारेका हुन् । स्थानीयहरूले मुर्ती फेलापारी धुलिखेलमा स्थापना गरी पुजा गरिरहेको उक्त मूर्ति प्राचीन किरातकालिन अवस्थाको हुनसक्ने पुरातत्वविद्हरुको अनुमान छ ।

धुलिखेल नगरपालिका वडा नं. ३ स्थित बतासे डाँडामा केही हप्ता आगाडी स्थानीय युवाहरूले उक्त मुर्ती प्रतिस्थापन गरेका थिए ।

मुर्तीका सम्बन्धमा कोरोनाको महामारी पछि पुरातत्त्व विभागमार्फत थप अध्ययन अनुसन्धान गरिने धुलिखेल नगरपालिकाले जनाएको छ ।

सडक निर्माणको क्रममा पनौती रोशी खोलाबाट ढुङ्गा ल्याउँदा ढुङ्गासँगै उक्त मुर्ती धुलिखेल ३ आई पुगेको बताईन्छ । स्थानीय उपभोक्ता समितिका युवाहरूले बाटो बनाउने क्रममामा मुर्ती फेला परोसँगै सोही स्थानमा मूर्ति प्रतिस्थापन गरेका थिए ।

धुलिखेल नगरपालिकाका प्रमुख अशोककुमार ब्यान्जुलाई उक्त मुर्तीका बारेमा स्थानीय उपभोक्ता समिति र युवाहरूले जानकारी गराएसँगै मुर्तीबारे चर्चा परिचर्चा सुरु भएको थियो । नगर प्रमुख ब्याञ्जुसँगको छलफल पछि मूर्ति प्राचीन भएको थाहा पाएसँगै युवाहरूको उपस्थितिमा मुर्ती सकुशल निकाली धुलिखेल नगर पालिकालाई हस्तान्तरण गरिएको छ ।

इतिहासका खोज तथा अनुसन्धान विश्लेषकहरूले उक्त मुर्ती नेपालका लागि ऐतिहासिक भएकाले यसको अध्ययन र अनुसन्धानमा पुरातत्त्व विभाग, स्थानीय सरकार र सरोकारवालाहरूले सहयोग गर्नु पर्ने बताएका छन् ।

पुरातत्त्वविद् उधव आचार्यका अनुसार भेटिएको यो मुर्ती आदिमकालको हुनसक्छ । मुर्ती देख्दा यो मुर्ती ईसापूर्व दोस्रो या तेस्रोताका निर्माण भएको हुनुपर्छ । यो नेपाल कै सबैभन्दा पुरानो मुर्ती हुनसक्ने उहाँको अनुमान छ ।

फेला परेको मुर्ती उपत्यकामा रहेका थुप्रै प्राचीन मातृकाका मूर्ति तथा विरुपाक्ष समीपको आर्यादेव  र सुर्य मुर्तीसँगै सामीप्यता राख्ने खालको रहेको बताईन्छ । मुर्तीको गहनाहरुमा पनि कतिपय समानता छ भने मुर्तीमा आशनमा बसेर श्री फलरपद्म बीज बाँया हातले बोकेको देखिन्छ । मुर्तीको दाँया हात काटिएको तथा कम्मर मुनिको भाग छुट्टिएको छ ।

शिर पछिको प्रभावली साधारण भए पनि जिउँ पछाडी पनि कला कुँदिएको छ। इतिहासकारहरु चुनढुंगा जस्तै प्रकृतिको एक हातको एउटै चट्टानमा कुँदिएको सो मुर्तीमा अहिलेसम्म पनि प्रष्ट किराँती महिला स्वरूप देखिएकोले दर्जनौ मातृका मुर्ती मध्यको नमुना मुर्ती हुनसक्ने बताउँछन् ।

जानकारहरु यस्तो आकारको मुर्ति नेपालमा विरलै मात्र भेटिने गरेको बताँउछन ।

पलाञ्चोक उपत्यका पुरातत्त्व खोज अनुसन्धान समितिका सदस्य सचिव श्रीकृष्ण धिमाल ‘यो मुर्ति नेपालको सबैभन्दा प्राचीन किराँतकालिन भएको ठोकुवा गर्दै यो मुर्ती कसरी धुलिखेल आइपुग्यो विशेष छानविन हुनुपर्ने’ बताउँनुहुन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button