सल्यानका कारागारको दुरावस्था : २० क्षमताको कारागारमा एक सय ४४ कैदी बन्दी

सल्यान । जिल्ला कारागार सल्यानमा क्षमताभन्दा बढी कैदी बन्दी हुँदा भान्सा कोठा, कोलियामा सुत्न बाध्य भएका छन् । कारागारमा क्षमताभन्दा सात गुणा बढी कैदी बन्दी भएपछि यस्तो समस्या आएको हो ।
सल्यान कारागार २० जना कैदी वन्दी राख्ने क्षमताको हो । तर कोचकोच्च गरेर ४० जनासम्म राख्न सक्ने अवस्था थियो ।
जिल्ला कारागार सल्यानका जेलर बलबहादुर केसीले कारागारमा अहिले एक सय ४४ जना कैदी बन्दी भएपछि रातको समयमा सुत्ने समस्या भएको बताए । ।
कोठा अभावमा भान्सा कोठादेखि कोलिया र ढोकासम्म लाइन लगाएर सुताउनु पर्ने बाध्यता छ । उनले भने ‘भित्र कतै ठाउँ नभएपछि भान्सा कोठा, कोलियामा सुत्ने वातावरण मिलाएका छौँ ।’
कारागारमा चार बालबालिकासहित एक सय ४४ जना कैदी बन्दी रहेकोमा एक सय १८ जना पुरुष र २२ जना महिला रहेको जेलर केसीले बताए । हामीसँग पर्याप्त मात्रामा कोठाहरू छैन उनले भने ‘पुरुषको लागि ६ वटा कोठा रहेका छन् भने महिला का लागि दुई वटा कोठा मात्रै रहेका छन् ।’
गत वर्ष पनि क्षमताभन्दा बढी कैदी बन्दीका लागि राती सुत्ने समस्या भएपछि कारागारको एउटा कोठामा आकाशे खाट बनाइएको उनले बताए । कारागारमा अहिले बढी मात्रामा कर्तव्य ज्यान, जबरजस्ती करणी उद्योग, बहुविवाहका कैदी बन्दी रहेको जेलर केसीले बताए ।
शौचालयको निकै सास्ती
कारागारभित्र एक सय १८ जना कैदी बन्दीले एउटै शौचालय प्रयोग गर्दै आइरहेका छन् । कारागारभित्र पुरुष र महिला कैदी बन्दीका लागि छुट्टाछुट्टै दुई वटा शौचालय छन् । जसमध्ये २२ महिला कैदी बन्दी र ४ बालबालिका गरी २६ जनाले एउटा शौचालय प्रयोग गर्दै आएका छन् भने एक सय १८ जना पुरुष कैदी बन्दीका लागि एउटै शौचालय छ ।
उनीहरूले रातको समयमा एउटै शौचालय प्रयोग गर्नुपर्ने बाध्यता छ । दिउँसोको समयमा भने पुरुषहरूका लागि बाहिरका थप दुई वटा र महिलाका लागि बाहिरका थप एक वटा शौचालयको व्यवस्था गरिएको छ । शौचालयको उचित व्यवस्थापन नहुँदा निकै समस्या रहेको कैदीबन्दीहरूले बताएका छन् ।








प्रतिक्रिया राख्नुहोस्