स्व.नगरप्रमुखको नाममा स्मृतिद्वार
गलकोट- बागलुङ नगरपालिकाका पूर्व नगर प्रमुख स्वर्गीय ऋषिराम शर्माको नाममा स्मृतिद्वार निर्माण गरिएको छ । साविक धौलागिरी अञ्चलको पहिलो नगरपालिकाका नगर प्रमुख शर्माको कार्यक्षमता र दूरदर्शिताका कारण नगरपालिकामा विकासको आधार र खाका तयार गर्नमा उल्लेख्य योगदान गरेको सम्मानस्वरुप बागलुङ नगरपालिकाले ‘ऋषिराम शर्मा स्मृतिद्वार’ निर्माण गरेको हो ।
आर्थिक वर्ष २०७५/७६ को ५ लाख र आर्थिक वर्ष २०७६/७७ मा विनियोजित छ लाख र स्थानीयको २ लाख बराबरको श्रमदानमा गरी १३ लाखको लागतमा स्मृतिद्वार निर्माण गरिएको बागलुङ नगरपालकाले जनाएको छ ।
विसं २०५४ देखि ५९ सम्म जननिर्वाचित पहिलो नगर प्रमुख भएर बागलुङ नगरवासीका लागि ऐतिहासिक योगदान गर्न सफल भएको भन्दै उहाँको स्मृति तथा सम्मानमा बागलुङ नगरपालिका–४ कुडुँलेको तिरुपती चोकमा स्मृतिद्वार निर्माण गरिएको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले बताउनुभयो ।आठ मिटर फराकिलो गरी डवल डिपिसीमा निर्माण गरिएको स्मृतिद्वार जग्गा समस्याका कारण ढिला गरेर सम्पन्न भएको नगरपालिकाका इन्जिनियर गौरव शर्माले बताउनुभयो ।
शर्माका अनुसार स्मृति द्वारमा रङ्ग रोगन र स्वर्गीय नगर प्रमुख शर्माको शालिक राख्न बाँकी छ । अध्यक्ष केसीले पूर्व नगर प्रमुख शर्माको कारणनै नगरले ल्याएका योजना बृहत र धेरै जनता समेट्न सक्ने खालका भएको बताउनुभयो । पूर्व नगर प्रमुख शर्माले नगर भित्रवस्ती विकास तथा सडक निर्माणको खाका, धौलागिरिकै एक मात्र आङ्गिक क्याम्पस धौलागिरी बहुमुखी क्याम्पासको विकास, हालको धौलागिरी अस्पतालको सुधार लगाएत नगरका धेरै क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पु¥याएको नगरपालिकाको ठहर छ ।
नगरपालिकाले यसका साथै झण्डै एक करोड बराबरको ‘गरिबसंग ऋषिराम’ कार्यक्रमका लागि कोष खडा गरेको छ । २०११ माघ ३ गते बागलुङ नगरपालिका–१ रामरेखामा जन्मनुभएका शर्माको २०७१ माघ १६ गते निधन भएको थियो । तत्कालिन कालिका, मुलपानी र लहरेपिपल गाविसलाई समायोजन गरी पहिलो पटक २०५३ साल माघ १८ गते बागलुङ नगरपालिकाको घोषणा गर्न ठूलो भूमिका खेल्नुभएका शर्मा २०५४ सालको स्थानीय निर्वाचनबाट नगर प्रमुखमा निर्वाचित हुनुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्