तपाईँ सुन्दै हुनुहुन्छः

राप्रपाद्वारा लिदी पहिरो पीडितलाई ५ लाख सहयोग

सिन्धुपाल्चोक । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले जुगल गाउँपालिका– २, लिदीका पहिरो पीडितहरूलाई ५ लाख ६ हजार रुपैंया प्रदान गरेको छ ।

पहिरो पछि जुगल गाउँपालिका– १, बाँसखर्कमा अस्थायी क्याम्पमा बसिरहेका पीडितहरुलाई बिहीबार राप्रपाले सहयोग गरेको हो । पहिरोमा परि मृत्यु भएकाको परिवारलाई प्रति परिवार १२ हजार रुपैंया प्रदान गरिएको थियो । १२ परिवारलाई सो रकम प्रदान गरिएको राप्रपाका केन्द्रीय सदस्य एवम् पूर्व सांसद् रमेश लामाले जानकारी दिए ।

त्यस्तै पूर्ण घर क्षति भएका १८ परिवारलाई जनही ६ हजार रूपैयाँ र विस्थापित १ सय २७ घरधुरीलाई प्रति परिवार दुई हजार रूपैयाँको दरले राहत उपलब्ध गराइएको थियो । राप्रपाका केन्द्रीय नेता, जिल्लाका विभिन्न तहमा क्रियाशील नेताहरूको अग्रसरता र सहयोग संकलन गरि पीडितलाई उपलब्ध गराइएको राप्रपाले जनाएको छ ।

हस्तान्तरण कार्यक्रममा राप्रपाका केन्द्रीय सदस्यहरू रमेश लामा र उदय सापकोटा, राप्रपा निकट महिला संगठनका केन्द्रीय महासचिव कुमारी तामाङ, जिल्ला अध्यक्ष गोपाल श्रेष्ठ, जिल्ला सदस्य नारायण पाण्डे, क्षेत्रीय अध्यक्ष शिव भण्डारीलगायत बाँसखर्क पुगेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button