तपाईँ सुन्दै हुनुहुन्छः

पतिबाटै असुरक्षित भएको भन्दै पत्नीको उजुरी

सप्तरी । सप्तरीको विष्णुपुर गाउँपालिका–६ की ३५ बर्षीया फुलिया देवीले पति वाट असुरक्षित भएको भन्दै बिहीबार प्रहरीमा निवेदन दिएकी छिन । पति जिवछ मुखियाको निर्घात कुटपिटबाट बुधवार राति घाइते भई गजेन्द्र नारायण सिंह अस्पताल भर्ना भएकी उहाँको तर्फबाट छोरा मनोजले प्रहरी चौकी विष्णुपुरमा निवेदन बुझाएका हुन ।

निवेदनमा सधैँ रक्सी सेवन गरी आउने पति जिवछलाई सम्झाउँदा यस अघि पनि पटक पटक शारीरिक र मानसिक यातना दिने गरेको उल्लेख गर्दै उनी माथि घरेलु हिंसा (कसुर सजाय २०६६) अनुसार कारवाही गर्न माग गरिएको छ ।

निवेदनमा पछिल्लो पटक बुधवार राती पनि अत्यधिक मदिरा सेवन गरी आएका पतिलाई कडाइका साथ सम्झाउन खोज्दा लाठी र फलामे रडले अन्धाधुन्ध प्रहार गरी घाइते बनाएको उहाँले उल्लेख गरेकी छिन ।

उहाँको घाटी, आँखा मुनि र टाउकोमा चोट देखिएको र उपचार भइरहेको अस्पतालले जनाएको छ । पतीको यातनाले पटक पटक विस्थापित भई माइतीमा बस्न बाध्य भएको उल्लेख गर्दै उहाँले निवेदन मार्फत सुरक्षित साथ घरमा बस्न पाउने वातावरण मिलाई दिन समेत आग्रह गरेकी छिन ।

यता जिवछले आफू पत्नी पीडित भएको बताएका छन् । दिन भरी ज्याला मजदुरी गरेर राती घर पुग्दा सधैँ कचकच र झैँ–झगडा गर्छिन्, उहाँले भन्नु भयो, “सुरुमा उनले नै हातपात गरिन, त्यसपछि प्रतिकार गर्दा उहाँलाई चोट लागेको हो ।”

उहाँले पत्नी फुलियासँग बस्न नसक्ने भएरै पटक पटक अलग्गै बस्दै आएको सुनाउनु भयो । वडा अध्यक्ष बहादुर सदाले यसरी आएको घटनालाई पारिवारिक भनेर छाड्दाँ परिणाम अझ गम्भीर हुन सक्ने भएकाले यस बारे समाज र प्रशासन दुवै गम्भीर बन्न जरुरी रहेको बताउनुभयो । उहाँले घटनाको सत्य तथ्य छानबिन हुनुपर्नेमा जोड दिएका छन् ।

विष्णुपुर प्रहरी चौकी इन्चार्ज प्रमोद साहले मुखिया दम्पती बिच घरायसी विवाद लिएर यस अघि पनि पटक–पटक झैँ–झगडा हुने गरेको र पटक–पटक पञ्चायती समेत भइसक्दा पनि दुवैले निर्णय नमानेको जानकारी आएको बताउनु भयो । उहाँले पीडित फुलिया देवीको निवेदनलाई गम्भीरता पूर्वक लिँदै पीडकलाई झिकाई आवश्यक अनुसन्धान सुरु गरिएको बताएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button