व्यावसायिक तरकारी खेतीमा रोग, किरा र लकडाउनले दोहोरो नोक्सानी, किसानहरू मर्कामा

बैतडी । तरकारी खेतीमै निर्भर रहेका बैतडीको दशरथचन्द नगरपालिका वडा न.४ जर्गका किसानहरूले यसपालि दोहोरो नोक्सानी बेहोर्नु परेको छ । खेतमा लगाएको तरकारी विभिन्न रोग र किराको प्रकोपले राम्ररी फल्न सकेन भने फलेको तरकारी समेत लकडाउनका कारण बजारमा बेच्नै नपाएको किसानहरूले बताएका छन् ।
किसानहरूले मेहनत गरेर खेतमा लगाएको गोलभेँडा, बन्दा, काउली, फर्सी लगायतका तरकारी रोग र किराले सखाप गरिदिएको स्थानीय कृषक चक्रदेब पाण्डेयले बताउनुभयो । आफ्ना खेतमा केही मात्रामा तरकारी उत्पादन भए पनि बजार बन्दका कारण बेच्न समेत समस्या भएको किसान मनिराम लोहियाले बताउनुभयो ।

बजार आंशिक रूपमा खुलेकोमा केही तरकारी बजारमा बिक्री भए पनि अधिकांश तरकारी रोग र किराले नोक्सान गरेको किसानहरूले बताएका छन् । आफ्नो १५ रोपनी बढी खेतमा लगाएको तरकारी बाली आधा समेत बचाउन नसकिएको कृषक नवीन पाण्डेयले बताउनुभयो ।
किसानहरूले तरकारी बालीमा नोक्सानी बेहोर्नु परेको भन्दै कृषि ज्ञान केन्द्र र दशरथचन्द नगरपालिकासँग राहत माग गर्दा केहिपनि राहत नपाइएको कृषक अकबर मालले बताउनुभयो ।
जर्गका एक सय बढी किसानहरू तरकारी खेतीमा आत्मनिर्भर रहेका छन् । तर यस वर्ष टोटा नामक किरा र डडुवा रोगले तरकारी बाली सखाप पारेको कृषक चक्रदेब पाण्डेयले बताउनुभयो । फलेको २–३ महिना सम्म बेच्न सकिने टमाटर १० दिन समेत बेच्न नपाइएको उहाँले बताउनुभयो ।

रोग किराले दुःखदिनुका साथै तरकारी बेच्न समस्या हुँदा चिन्तित भएको स्थानीय बलदेव पाण्डेयले बताउनुभयो । उहाँले यस अघिको सिजनमा ५ रोपनी जग्गामा लगाएको सबै काउली कुहिएको र अहिले टमाटर समेत रोग किराले सखाप पारेको बताउनुभयो । तरकारीमा नोक्सानी ब्यहोनु पर्दा कृषकहरूलाई दैनिक जीविकोपार्जन गर्न मुस्किल हुने गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्