तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना पुष्टि भएका दुई सय भन्दा बढी सम्पर्क बाहिर


जनकपुरधाम । कोरोना सङ्क्रमणको पुष्टि भएको प्रदेश २ का करिब २ सय भन्दा बढी सङ्क्रमितहरू स्वास्थ्यकर्मी तथा सुरक्षा निकायको सम्पर्कमा नरहेका कारणले कोरोनाको जोखिम अझै उच्च बनेको छ ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरधाम, नारायणी उपक्षेत्रीय अपतालको प्रयोगशाला तथा गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालको प्रयोगशालामा पीसीआर परीक्षण गराएकामध्ये दुई सय भन्दा पनि बढी सङ्क्रमित स्थानीय प्रशासन तथा प्रहरीको सम्पर्क नरहेकाले व्यक्तिको यकिन कठिन रहेको सामाजिक विकास मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय कुमार झाले जानकारी दिनु भयो ।

पीसीआर परीक्षणका बेला नाम, ठेगाना र सम्पर्क नम्बर गलत लेखाउने गरेका कारणले उनीहरू फेला नपरेको विभिन्न जिल्लाका स्थानीय प्रहरी तथा प्रशासनले जानकारी दिइएको छ । स्थानीय तहलाई पनि कन्ट्रयाक्ट्रेसिङ्गमा समस्या भइरहेको वीरगञ्ज महानगरपालिकाका प्रमुख विजय सरावर्गीले जानकारी दिनु भयो ।

समाजमा कोरोना सङ्क्रमितलाई हेर्ने दृष्टिकोण गलत रहेका कारणले संक्रमण पुष्टि भए पनि लुकी छिपी बस्ने अवस्था रहेको प्रदेश नंं २ का सामाजिक विकास मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजयकुमार झाले जानकारी दिनु भयो । मानवीय सेवा भएकाले पीसीआर परीक्षण गर्दा नागरिकता हेर्ने चलन नभएको जानकारी दिनु भयो ।

प्रदेश नंं २ मा कोरोनाको संक्रमण बढी रहेको वेलामा कोरोना पुष्टि भएका व्यक्तिहरू लुकी छिपी बस्ने तथा जथाभाबी रूपमा घर परिवार तथा समुदायमा घुलमिल गरेको खण्डमा झनै जोखिम बढाउने भएकाले त्यसो नगर्नका लागि जनस्वास्थ्य प्रशासक झाले आग्रह गर्नु भयो ।

प्रादेशिक अस्पताल जनकपुरधामका कोरोना विशेष अस्पतालका संयोजक डा. जामुन प्रसाद सिंहले कोरोना सङ्क्रमित लुकेर बस्नु सङ्क्रमणको दर बढाउने भएकाले कोरोना लागेपछि स्थानीय प्रहरी तथा स्वास्थ्यकर्मीको सम्पर्कमा आउन लागि आग्रह पनि गर्नुभयो । यसलाई लुकाउने आवश्यकता नरहेको बताउनु भयो ।

सङ्क्रमित भएर लुकीछिपी बसेकाहरूको खोजी गर्नुपर्ने बाध्यता प्रहरीलाई हुनु निक्कै चिन्ताको विषय रहेको बताउँदै धनुषाका प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले यसले प्रहरीको चुनौती बढाएको बताउनु भयो ।

सङ्क्रमित भएर परिवार समाजमा बस्दा महामारी अझ फैलिने जोखिम भएको हुँदा त्यस्ता व्यक्तिलाई खोजी गर्नका लागि, जनप्रतिनिधि, स्थानीय निकाय, स्वास्थ्य कार्यालय तथा प्रहरीको एकीकृत प्रयास आवश्यक रहेको प्रहरी उपरीक्षक बस्नेतले जानकारी दिनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button