प्रदेश नं. ५ मा लघु घरेलु तथा साना उद्योगहरूको दर्ता निःशुल्क

रुपन्देही । प्रदेश ५ सरकारले लघु घरेलु तथा साना उद्योगहरूको दर्ता निःशुल्क गर्ने भएको छ । आज बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले दर्ता दस्तुरमा पूर्ण छुट गर्ने निर्णय गरेको हो ।
यसै गरी बैठकले प्रदेश लोकसेवा आयोग, प्रदेश योजना आयोग, प्रदेश पूर्वाधार विकास प्राधिकरणको सङ्गठन संरचना तथा अस्थायी दरबन्दी स्वीकृत गरेको छ ।
प्रदेश सरकारले प्रदेश पूर्वाधार विकास प्राधिकरणका लागि १० जना, योजना आयोगका लागि नौ तथा लोकसेवा आयोगका लागि ३० जना गरी ४९ जना अस्थायी दरबन्दी स्वीकृत गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेर बहादुर केसीले जानकारी दिनुभयो ।
बैठकले प्रदेश पूर्वाधार विकास प्राधिकरणको स्थापना र सञ्चालन सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक प्रदेश सभामा पेस गर्न स्वीकृति प्रदान गरेको छ ।
विभिन्न ७ निर्णय गरेको सरकारले प्रदेशस्तरीय एकीकृत प्रशिक्षण प्रतिष्ठान स्थापना तथा सञ्चालन सम्बन्धी मस्यौदा स्वीकृत गर्नुका साथै कानुन मस्यौदा कार्यदलको म्याद ६ महिना थप गर्ने भएको छ ।
कार्यदलमा संयोजक महान्यायाधिवक्ता, आन्तरिक मामिला तथा कानुन मन्त्रालयको कानुन महाशाखा प्रमुख सदस्य र विज्ञ सदस्य खुमाकान्त पौडेल रहनुभएको छ ।
यस्तै प्रदेश विपद् व्यवस्थापन कार्य सञ्चालन निर्देशिकाको पहिलो संशोधनलाई स्वीकृत प्रदान गरिएको छ भने आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा अस्थायी दरबन्दी स्वीकृति प्रदान गरिएको छ ।








प्रतिक्रिया राख्नुहोस्