बहुविवाह मुद्दाका फरार दुई जना पक्राउ

तनहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँले बहुविवाह मुद्दामा फरार रहेका दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ऋषिङ गाउँपालिका–२ गैराथोकका ३३ वर्षीय विनोद भन्ने धनबहादुर राना र ३६ वर्षीया नमुना राना ठकुरी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
पक्राउ परेकी नमुना धनबहादुरको कान्छी श्रीमती हुन् । उनीहरूलाई घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो ।
उनीहरू विरुद्ध जिल्ला अदालत तनहुँले विसं २०७५ असार २६ गते जनही एक वर्ष कैद र रु दश हजार जरिवानाको फैसला सुनाएको थियो ।
उक्त फैसला उपर जनही ११ महिना पाँच दिन कैद र जनही रु.दश हजार जरिवाना भुक्तान गर्न बाँकी रहेकाले निजहरूलाई अदालत पेश गरिएकोमा अदालतको आदेश बमोजिम कैद भुक्तानका लागि कारागार चलान गरिएको छ ।
प्रहरीले विभिन्न अपराध एवं मुद्दाहरूमा संलग्न रही फरार रहेका तथा अदालतबाट फैसला भई दण्ड, जरिवाना, दसौदी, कोर्ट फि र सरकारी बिगो तिर्न बाँकी भएकालाई धमाधम पक्राउ गरिरहेको छ ।








प्रतिक्रिया राख्नुहोस्