बाँकेमा कोरोना सङ्क्रमणबाट थप एक जनाको मृत्यु

नेपालगञ्ज । बाँकेमा कोरोना सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।
कोरोना सङ्क्रमणबाट नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ७ की ७० बर्षीया महिलाको आज बिहान साढे १०:०० बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।
दुवै फोक्सोमा निमोनिया भएकी ती महिला छातीमा समस्या भएपछि भदौ ३ गते नेपालगञ्ज मेडिकल कलेजमा भर्ना भएकी थिइन् । कोरोनाको आशङ्कामा भदौ ३ गते नै पिसिआर परीक्षणका लागि उनको स्वाब लिइएको थियो ।
भदौ ५ गते उनको रिपोर्ट पोजेटिभ आएको थियो । उनको स्वास्थ्य अवस्था बिग्रिँदै गएपछि भदौ ६ गते नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा सारेर भेन्टिलेटरमा उपचार भइरहेको थियो ।
योसँगै बाँकेमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या छ पुगेको छ । नेपालगञ्जमा तीन जना , नरैनापुर, कोहलपुर र बैजनाथमा एक/ एक जनाको मृत्यु भएको छ ।








प्रतिक्रिया राख्नुहोस्